काठमाडौं । चाडपर्व नजिकिएसँगै हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले एक हजारभन्दा बढी प्रहरी परिचालन गरेको छ ।
नजिकिँदै गरेको चाडपर्वहरु दशैं, तिहार र छठ पर्वसम्मका लागि जिल्लाको शान्ति, सुरक्षा तथा सुव्यवस्थालाई प्रभावकारी बनाउन व्यापक रुपमा प्रहरी परिचालन गरिएको सिन्धुपाल्चोक प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नर सिंह राणाले जानकारी दिए ।
उनले अपराधरहित चाडपर्व बनाउन प्रहरीले विशेष सुरक्षा योजना अन्तर्गत जिल्लाका विभिन्न स्थानको पहिचान गरेर सोही अनुसार प्रहरी परिचालन गरिएको बताए । ‘प्रत्येक युनिटले आ आफ्नो क्षेत्रमा पैदल गस्ती आवश्यकताअनुसार गरिरहनेछ,’ एसपी राणाले भने ।
आपराधिक क्रियाकलाप हुने ठाउँहरु मध्यनजर गर्दै चाडपर्व मनाउने स्थानहरुमा सुरक्षा व्यवस्था मिलाउन अराजक एवंम् उत्छृंखल गतिविधि नियन्त्रण, झैं–झगडा, जुवातास, चोरी, लुटपाट, गुण्डागर्दी, तस्करी नियन्त्रण र सवारी दुर्घटना न्यूनीकरण तथा बैंक र वित्तीय संस्थामा हुने आर्थिक कारोबारका स्थानमा सुरक्षा व्यवस्था कडा बनाइएको एसपी राणा बताउँछन् ।
उनले कालोबजारी नियन्त्रणका लागि समेत प्रहरी परिचालन गरिएको जानकारी दिए । चाडपर्वको समयमा स्थानीय व्यापारीहरुले महंगोमा सामान बेच्नसक्ने हुने भएकाले सादा पोशाकमा समेत उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको उनले बताए ।
चाडपर्वको समयमा आर्थिक कारोबार धेरै हुने भएकाले बैंक तथा वित्तीय क्षेत्रमा हुनसक्ने लुटपाट तथा चोरीका घटना नियन्त्रणका लागि प्रहरीले बैंक तथा वित्तीय संस्था सुनचाँदी लगायत आर्थिक कारोबार हुने स्थानमा २४ सै घण्टा प्रहरी परिचालन गरिनेछ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार जिल्लाभर एक हजार बढी प्रहरी प्रत्यक्ष रुपमा फिल्डमा खटाइने छ । त्यस्तै ट्राफिक प्रहरी कार्यालयसँग समन्वय गर्दै जिल्लाका ठाउँ-ठाउँमा चेकपोइन्ट स्थापना गरी आकस्मिक चेकजाँचको व्यवस्था समेत मिलाइएको एसपी राणाले बताए ।
एसपी राणाकाअनुसार राजमार्गको सुरक्षा, ग्रामिण क्षेत्रको सुरक्षाका लागि विभिन्न प्रहरी युनिटबाट पैदल गस्ती चौबिसै घण्टा मोबाइल गस्तीको व्यवस्था गर्नुका साथै जिल्लाका ३ ४ स्थानमा स्ट्राइकिङ फोर्स समेत परिचालन गरिएको छ ।
