इजरायल । इजरायल र प्यालेस्टानी आक्रमणकारी हमास समूहको आक्रमणमा परि गाजा र वेस्ट बैंकमा ७०४ जनाको मृत्यु भएको छ भने इजरायलमा ९०० जनाको मृत्यु भएको छ ।
त्यस्तै गाजा र वेस्ट बैंकमा २ हजार ६१६ जना घाइते भएका छन् भने भने इजरायलमा ३८०० जना घाइते भएको विदेशी सञ्चारमाध्यमले जनाएको छ ।
यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासलाई कडा चेतावनी दिँदै ‘यो युद्ध इजरायलले सुरु गरेको होइन, हामी अन्त्य गर्नेछौं’ भनेका छन् । हमासले युद्ध सुरु गरेपछि इजरायलले ३ लाख सैनिक परिचालन गरेर बदला लिने भएको छ ।
टाइम्स अफ इजरायलका अनुसार सन् १९७३ को योम किप्पुर युद्धमा इजरायलले ४ लाख रिजर्भ सैनिक बोलाएको थियो ।
इजरायलका प्रधानमन्त्री नेतन्याहुले सम्बोधनमा भने, ‘इजरायल युद्धमा छ । हामीले यो युद्ध चाहेका थिएनौं । यो सबैभन्दा क्रूर तरिकाले सुरु भएको थियो । यद्यपि इजरायलले यो युद्ध सुरु गरेको होइन, यो युद्द अब इजरायलले अन्त्य गर्नेछ ।’
हमासमाथि हमला गर्दै प्रधानमन्त्री नेतन्याहुले यसका लागि आफूहरूले मूल्य चुकाउनु पर्ने र यसलाई लामो समयसम्म सम्झिने बताएका छन् ।
उनले भनेका छन् कि हमासले इजरायलमाथि हमला गरेर ऐतिहासिक गल्ती गरेको बुझ्नेछ । ‘हामी तिनीहरू र इजरायलका अन्य शत्रुहरूले आउने दशकहरूमा सम्झने मूल्य निर्धारण गर्नेछौं,’ उनले चेतावनीको भाषामा भने ।
बन्धकहरूको दुर्दशामा बोल्दै प्रधानमन्त्री नेतन्याहुले निर्दोष इजरायलीहरू विरुद्ध हमासले गरेको क्रूर आक्रमणहरू स्तब्ध पार्ने बताएका छन् । उनीहरूले घरभित्र पसेर परिवारको हत्या गरे, चाडपर्वमा सयौं युवाको हत्या गरे, बालबालिका र वृद्ध वृद्धाहरूलाई अपहरण गरे ।
यो सबै बर्बरता हो । उनले हमासलाई आईएसआईएससँग तुलना गर्दै आफ्नो पराजयका लागि तयार हुन चेतावनी दिए । यस बाहेक उनले आफ्नो सम्बोधनमा अमेरिकी राष्ट्रपति जो बाइडेन र अन्य विश्व नेताहरुलाई सहयोगको लागि धन्यवाद पनि दिए ।
उक्त आक्रमणमा परी १० नेपालीको समेत मृत्यु भएको छ ।
