- दिपकराज जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका ट्राफिक कार्यालयले आयोजना गरेको सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह(२०८० कंलकीमा पनि विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ ।
सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने उद्देश्यले आयोजना भएको सचेतनामुलक ट्राफिक सप्ताह कार्यक्रम ट्राफिक प्रहरी प्रभाग कंलकी र विभिन्न संधसंस्थाको सहकार्यमा सुरु भएको थियो ।
ट्राफिक सप्ताह कार्यक्रम विभिन्न सचेतना मुलक कार्यक्रम गरि सम्पन्न भएको ट्राफिक प्रभाग कंलकीका कार्यालय प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) युवराज कटुवालले बताए ।
सप्ताह कार्यक्रम अन्तरगत कंलकी ट्राफिक प्रहरीले सामुदायिक विद्यालय तथा नीजि कलेजहरूका विद्यार्थीलाई ट्राफिक सचेतना दिएको थियो । इन्स्पेक्टर कटुवालले बालबालिकामा ट्राफिक सचेतना अभिवृद्धि गराउने उद्देश्यले कक्षा सञ्चालन गरिएको बताए ।
“सचेतना कक्षामा बाटोमा हिँड्दा र बाटो काट्दा ध्यान पुर्याउनुपर्ने कुरा एवं सडक सुरक्षासम्बन्धी आधारभूत कुरा जानकारी गराएका छौँ”, इन्स्पेक्टर कटुवालले भने ।
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई बिहानको लाइन लगाउने समयमा ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा दिने उनको भनाइ छ । यस्तै विद्यालयको समन्वयमा थप सचेतना कक्षासमेत सञ्चालन गर्ने कार्यालयले जनाएको छ ।
साथै उक्त कार्यक्रममा कंलकी १४ नं वडाका युवा व्यवसायी तथा समाजसेवी शैलेश अधिकारी, सुरेश रायमाझी, विजय मोक्तान, अजय मोक्तानलगायका युवाहरूले सहयोग गरेका थिए ।
उक्त कार्यक्रममा सडक दुर्घटना न्यूनीकरण गर्न सरकारले भत्किएको तथा कच्ची सडकको तत्काल मर्मत गर्नुपर्ने उनीहरुको भनाइ थियो । युवा व्यवसायी अधिकारीले मानवजीवन सबैभन्दा अमुल्य भएकाले जीवन रक्षाका लागि दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले गरिरहेको सेवा प्रवाहमा थप टेवा पु¥याउने उद्देश्यले आफुले पनि सहकार्य गरेको बताए ।
सम्पन्न उक्त कार्यक्रममा ‘सवारी दुर्घटनाबाट बचौं र बचाऔं’, ‘सवारी दुर्घटना न्युनीकरणमा तपाई हाम्रो भूमिका’लगायत ट्राफिक सचेतना सम्बन्धी जानकारीमुलक कक्षा सञ्चालन गरी समापन गरिएको थियो
