काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सुरक्षा र चुनौतीको विषयलाई सुक्ष्म अध्ययन गरी आवश्यक रणनीतिसहित अगाडि बढ्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौँमा आज सिनं १५ का सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले नेपालको संविधान, प्रचलित कानुनको अधिनमा रही सरकारको निर्देशन बमोजिम जनसेवा र सुरक्षामा केन्द्रित हुन सशस्त्र प्रहरीको ध्यानाकर्षण गराए ।
उनले आगामी दिनमा सूचना प्रविधिको विकासले दिएको अथाह सम्भावनाका साथै निम्त्याएका बहुआयमिक चुनौतीको सामना र सम्बोधन गर्न सङ्गठनले थप प्रभावकारी योजना निर्माण गरी क्षमता अभिवृद्धिमा ध्यान दिन पनि सुझाव दिए ।
प्रधानमन्त्री दाहालले भने, ‘एउटा बलियो र सार्वभौम राज्यका लागि भूगोल, जनता, राज्यको अग्रगामी चरित्र, जनउत्तरदायी राज्ययन्त्र, स्वाधीन अर्थतन्त्र, बलियो सरकारलगायतका आधारभूत पक्ष आवश्यकता पर्छ, बलियो सुरक्षा अङ्ग र प्रभावकारी सुरक्षाबिना देशमा विकास र समृद्धिको वातावरण एवं मनोविज्ञान निर्माण गर्न सम्भव हुँदैन, त्यसैले नेपालको संविधान, प्रचलित कानुनको अधिनमा रही सरकारको निर्देशन बमोजिम जनसेवा र सुरक्षामा केन्द्रित हुनुपर्दछ ।’
उनले सशस्त्र प्रहरी बलले सम्पादन गर्ने काम र जिम्मेवारीलाई थप विशिष्टिकृत र प्रभावकारी तुल्याउन सुरक्षाकर्मीको क्षमता अभिवृद्धि, साधनस्रोतको उपलब्धता, सुदृढ सङ्गठन प्रणाली र व्यवस्थापन महत्वपूर्ण पक्ष भएको बताए ।
प्रधानमन्त्री दाहालले सङ्गठनलाई आधुनिक र व्यावसायिक सुरक्षा निकायका रूपमा थप विकसित तुल्याई जनशक्ति, साधनस्रोत, भौतिक पूर्वाधार र अन्य सुधारका क्षेत्रमा ध्यान जानुपर्नेमा जोड दिए । उनले त्यसका निम्ति नेपाल सरकारको तर्फबाट सहयोग र सहजीकरण हुने विश्वास दिलाए ।
उनले सङ्गठनलाई राज्यले दिएको विशिष्ट, महत्वपूर्ण र विशेष कार्य प्राप्त जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न सङ्गठनले जनशक्तिको नेतृत्व क्षमतामा विशेष ध्यान दिन आवश्यक भएको पनि बताए ।
सशस्त्र प्रहरीलाई नियमित कार्यसम्पादनका साथै विकसित नयाँ चुनौतीतर्फ ध्यान केन्द्रित हुन पनि उनले आग्रह गरे । साथै बदलिएको परिवेश, जनसङ्ख्या विकासको चरित्र, सहरीकरण, विश्वव्यापीकरण, भूराजनीतिक सम्बन्ध र नविनतम् सूचना प्रविधिको गुणात्मक विकासले सुरक्षा क्षेत्रमा समेत नयाँ सोच, नीति, कार्ययोजना र कार्यशैलीको माग गर्ने समेत बताए ।
सशस्त्र प्रहरी प्रतिष्ठानले अहिलेदेखि नै विशेष अध्ययन र चासो लिएर सम्भावित चुनौतीको पूर्वानुमान गरी सोहीअनुरूपको रणनीति तय गर्नुका साथै प्रशिक्षार्थीलाई प्रशिक्षित र परिचालित गर्न गम्भीर ध्यान दिने उनले विश्वास व्यक्त गरे ।
सशस्त्र प्रहरीले राज्यले सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिक निष्ठा, अनुशासन र इमान्दारिताका साथ सम्पन्न गर्दै आइरहेको सशस्त्र प्रहरी बलले राष्ट्रका आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन, महामारी नियन्त्रण, राजस्व गस्ती एवं भन्सार सुरक्षाका साथै राष्ट्रिय सुरक्षाका मूलभूत पक्षमा गहन भूमिका निर्वाह गरिरहेको भन्दै प्रशंसा गरे ।
प्रधानमन्त्री दाहालले राष्ट्रको सार्वभौमिकताको रक्षाका निम्ति प्रतिकूल मौसम, भौगोलिक विकटता तथा साधनस्रोतको सीमितताका बाबजुद सशस्त्र प्रहरीले गरेको कार्यसम्पादनका लागि सशस्त्र प्रहरीलाई धन्यवाद पनि दिए ।
समारोहमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालले स्थापनाकालदेखि नै विभिन्न आरोह अवरोहलाई पार गर्दै कार्यक्षेत्रमा आईपरेका सुरक्षा चुनौतीहरुलाई परास्त गर्दै राज्य र जनचाहना अनुरुपको सेवा र सुरक्षामा दर्विलो सुरक्षा निकायको रुपमा आफूलाई परिचित गराउँदै आएको बताए ।
सशस्त्र प्रहरी बल नेपाललाई सीमा सुरक्षार्थ डेडिकेटेड फोर्स बनाउन अन्तर्राष्ट्रिय मापदण्ड सहितको थप बोर्डर आउट पोष्टहरु (बिओपी)को स्थापना तथा मौजुदा रहेका बिओपीहरुको समेत स्तरबृद्धि र प्रविधिमैत्री बनाउँदै लगिने बताउँदै गृहमन्त्री श्रेष्ठले भने, ‘दिर्घकालिन महत्वको उपलब्धीका लागि गृहमन्त्रालयमा आएका योजना तथा समस्याहरुलाई समाधान गर्न आवश्यकताको पहिचान गरी प्राथमिकताकासाथ अगाडी बढाउन मन्त्रालयको सदैव सकारात्मक र रचनात्मक भूमिका रहनेछ ।’
उनले सुरक्षा कार्य अत्यन्तै संवेदनशिल र गहन विषय भएको हुँदा बढ्दै गएको नविनतम सुरक्षा चुनौतीहरुसँगै सुरक्षा फौजको कामकारवाहीहरुमा समेत इन्फरर्मेसन र मोविलिटीको तालमेल हुनुपर्ने कुरालाई मध्यनजर राख्दै प्रशिक्षण कार्यलाई समयानुकल थप आधुनिकीकरण र बैज्ञानिक ढंगले अगाडी बढाउँदै लैजानु पर्ने बताए ।
समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले धन्यवाद ज्ञापनको क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूबाट प्राप्त भएको निर्देशन सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरु मार्फत कर्तव्यनिष्ठ भई अक्षरश पालना गरिने बताउँदै प्रधानमन्त्रीज्यूको गरिमामय समुपस्थिति तथा निर्देशनले सम्पूर्ण सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको हौसला र मनोवल उच्च भएको बताए ।
उनले देश र जनताको सेवा, सुरक्षामा कटिवद्ध भई लाग्ने अभिप्रायले संगठनमा प्रवेश गरी दीक्षित भई कार्यक्षेत्रमा जान लाग्नुभएका अधिकृतहरुलाई हार्दिक बधाई दिदै तालिममा हासिल गरेका सैद्धान्तिक एवं व्यवहारिक ज्ञानलाई पेशागत जीवनमा अक्षरस पालना गरी कार्यसम्पादनमा जुट्न निर्देशन दिए ।
महानिरीक्षक अर्यालले राज्यप्रदत्त विविध जिम्मेवारीका क्षेत्रहरु विशेषतः सीमा सुरक्षा, देशको आन्तरिक सुरक्षा तथा राजश्व संकलन र विपद्व्य वस्थापनमा महत्वपूर्ण भूमिका लगायत विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा, औद्योगिक र रेलवे सुरक्षामा समेत उत्कृष्ट ढंगले कार्यसम्पादन गर्दै आईरहेको उल्लेख गरे ।
समारोहमा प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीले दीक्षान्त समारोहमा प्रशिक्षार्थी अधिकृतहरुलाई सपथ ग्रहण गराएका थिए ।
करीव ५६ हप्ता अवधिको उक्त आधारभूत तालिम ५ जना महिलासहित कुल ४९ जना सशस्त्र प्रहरी निरीक्षकहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् ।
तालिममा कवाजतर्फ सशस्त्र प्रहरी निरीक्षक ज्ञानचन्द्र पराजुली, शारिरीक सहिष्णुतातर्फ सशस्त्र प्रहरी निरीक्षक पुष्कर बहादुर बम र चाँदमारीतर्फ सशस्त्र प्रहरी निरीक्षक एजन खड्का उत्कृष्ट भएका छन् ।
दीक्षान्त समारोहमा नेपाली सेनाका रथी, निमित्त प्रहरी प्रमुख, निमित्त मुख्य अनुसन्धान निर्देशक, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, चन्द्रागिरी नगरपालिकाका प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरुकासाथै सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु एवं दीक्षित अधिकृतहरुका अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।
