काठमाडौं । जिल्ला प्रहरी कार्यालय, कास्कीले ‘चाडपर्व लक्षित सुरक्षा योजना’ तयार पारेको छ । चाडपर्वहरू नजिकिँदै जाँदा कास्की प्रहरीले ‘चाडपर्व लक्षित सुरक्षा योजना’ सार्वजनिक गरेको हो ।
कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार थापाका अनुसार योजनामा प्रहरीले गर्नुपर्ने ‘ड्युटी’, प्रहरीले प्रयोग गर्ने सवारी र उनीहरू रहने स्थान तथा निर्धारित ‘ड्युटी’ मा खटिनेहरूको संख्या यकिन गरिएको छ ।
प्रहरीले गर्ने ‘ड्युटी’ हरू अन्तर्गत सी.आर.भी सवारीमा ४५ जना, ग्रामीण गस्तीमा ५४ जना, पोखरा क्षेत्रभित्र पैदल गस्ती विभिन्न १४ स्थानबाट ५६ जना, एम्बुसीङमा आठ स्थानबाट ८६ जना, भिग्रस चेकिङमा १२ स्थानबाट पाँच जनाका दरले ६० जना प्रहरी परिचालित हुने छन् ।
यस्तै दुई वटा बसपार्क क्षेत्रमा यात्रु सहायकता कक्ष निर्माण गरेर १२ जना, यात्रुसँग एक मिनेट कार्यक्रमका लागि तीन ठाउँका मुख्य नाकामा पाँच जनाका दरले १५ जना, आर.एस.एस.सी.सी चेकिङका लागि दुई स्थानमा ४५ जना परिचालन हुने एसपी थापाले बताए ।
त्यस्तै धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षाका लागि चार स्थानमा २८ जना, राजमार्ग पट्रोलिङ अन्तर्गत तीन वटा मुख्य सडकमा २१ जना र विभिन्न अनुगमन÷सादा पोसाक तथा मोटरसाइकल गस्तीका लागि ९० जना गरी कुल पाँच सय ६२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिने थापाले बताए ।
चाडपर्वको बेलामा यात्रुहरूको चहलपहल बढ्ने, यात्रुको चापकै कारण सवारी साधनले क्षमता भन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम हुने, आफन्तको घर वा अन्यत्र कतै गएको बेलामा घरमा चोरी हुन सक्ने, सवारीमा अधिकार हनन हुनुका साथै दुर्व्यवहार हुन सक्ने जोखिम हुने भएकाले चाडपर्वका लागि सुरक्षा योजना बनाइएको उनको भनाइ छ ।

एसपी थापाले विशेष गरेर सहरी क्षेत्रलाई लक्षित गरेर प्रहरी परिचालन गरिएको बताए । उनका अनुसार दिउँसो र राती दुबै समयमा प्रहरी परिचालन गरिनेछ । यस वर्ष पनि चोरी हुने सम्भावना ठाउँ औंल्याउँदै सो कार्यहरु रोक्नका लागि प्रहरी खटाइने उनले बताए ।
बढी भाडा असुली गर्ने, खसी बोका ओसारपसारमा हुन सक्ने अवरोध, व्यक्ति वा वित्तीय संस्थामा हुन सक्ने लुटपाट, खाद्यान्नको कृत्रिम अभाव, जुवा तास तथा अवैध मदिरा, व्यस्त स्थानमा हुन सक्ने अवाञ्चिछत गतिविधि, जघन्य प्रकृतिका अपराध, फरार अभियुक्तको चलखेल, पटका भुईँ चम्पा तथा अतीसबाजीलगायतका अपराध र क्रियाकलापमाथि प्रहरीको निगरानी रहनेछ ।
कास्की प्रहरीले गण्डकी प्रदेशको राजधानी पोखरा भित्रिने र बाहिरिने मुख्यमुख्य नाकाहरु, मुख्य मुख्य सडक तथा भीडभाड हुने बजार क्षेत्रहरुमा बाक्लो मात्रामा प्रहरी परिचालन गर्ने जनाएको छ । त्यस्तै, वैंक, वित्तिय संस्था, बिजनेस कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर्स, सुन पसललगायतमापनि प्रहरी परिचालन गरेर निगरानी बढाएको छ ।
कास्की प्रहरीले चाडपर्वमा हुनसक्ने होहल्ला, हुलहुज्जत र लफडा नियन्त्रणका लागिपनि छुट्टै फोर्स परिचालन गर्ने भएको छ । विशेष टास्क फोर्स बनाएर प्रहरी परिचालन गरिने एसपी थापाले बताए । उनका अनुसार मापसे र लागूऔषध नियन्त्रणलाई पनि प्रभावकारी रुपमा नियन्त्रण गर्न प्रहरी परिचालन गरिनेछ । जसका लागि नाकाहरुमा चेकिङ र सादा पोषाकका प्रहरी परिचालन गरिने उनले बताए ।
सुरक्षा योजनालाई सफल रूपमा कार्यान्वयन गर्न बस व्यवसायी समिति तथा कम्पनी, ट्रक व्यवसायी, ठेकेदार, स्थानीय नागरिक, उद्योग वाणिज्य सङ्घ, स्थानीय तह, सुरक्षा गार्ड, बजार व्यवस्थापन समिति, टोल विकास समिति, समुदाय प्रहरी साझेदारीका समूह, उपभोक्ता मञ्च, आमा समूह, स्थानीय क्लब, सामाजिक सङ्घ संस्था लगायतसँग सहकार्य गरिने कास्की प्रहरीले जनाएको छ ।
