धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय, कैलालीले १० सरकारी गाडी नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले अनुमति बिना शनिवार पनि सञ्चालनमा रहेका १० गाडी नियन्त्रणमा लिएको हो ।
धनगढी उपमहानगरपालिकाका तीनसहित प्रदेशका विभिन्न कार्यालयका सरकारी गाडीहरु शनिवार पनि चलाएको भन्दै नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, धनगढीले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार धनगढी उपमहानगरपालिकाको से १ ब १२०८, सुदूरपश्चिम प्रदेश ०१–००१ ब १३३७ र सुदूरपश्चिम प्रदेश ०१–००१ ब १४९० नम्बरको गाडी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयको से १ ब ८१४, कैलारी गाउँपालिकाको सुदूरपश्चिम प्रदेश ०१–००१ ब १४३१ नम्बरको गाडी, पशुराम नगरपालिका वडा नम्बर १० को बा २ ब ८१८९ नम्बरको मोटरसाइकल, सहरी विकास कार्यालय, धनगढीको म १ ब ३७८ नम्बरको गाडी, मालपोत कार्यालय, बेलौरीको सुदूरपश्चिम प्रदेश ०१–००१ ब २२५७ को सवारी साधन, जिल्ला खानेपानी कार्यालय, अछामको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ३८३ र डिभिजन वन कार्यालय, पहलमानपुरको बा १ झ ४५५७ नम्बरको गाडी ट्राफिकले नियन्त्रणमा लिएको हो ।
पछिल्लो समय सरकारी कामकाजबाहेक अन्य काममा प्रयोग गर्न नपाइने सरकारी गाडीको कैलालीमा दुरुपयोग बढ्दै गएको छ । जनप्रतिनिधि र सरकारी कर्मचारीले आफू अनुकूल सरकारी गाडीको प्रयोग गर्न थालेका हुन् ।
विभिन्न मेला महोत्सव, घुमघाम र निजी काममा समेत सरकारी गाडी प्रयोग भइरहेका छन् ।
