नेपालीहरुको महान चाड दसैं, तिहार, छठलगायत पर्व शुरु हुन लागेको छ । यसै परिप्रेक्ष्यमा सुरक्षा निकाय विशेषतः नेपाल प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याएका छन् ।
प्रत्येक जिल्ला प्रहरी कार्यालयले सुरक्षा योजना सार्वजनिक गर्छन् । कतिपय प्रहरी कार्यालयले दसैंतिहार सुरक्षा योजना सार्वजनिक गरिसकेका छन् भने कतिपय कार्यालय सार्वजनिक गर्ने तरखरमा छन् ।
जिल्लाले मात्र नभएर प्रहरी प्रधान कार्यालयले समेत सुरक्षा योजना सार्वजनिक गर्नेछ । त्यस्तै काठमाडौं उपत्यका प्रहरी कार्यालयले पनि आफ्नो क्षेत्रलाई मध्यनजर गरेर सुरक्षा योजना सार्वजनिक गर्दैछ ।
प्रहरीले सुरक्षा योजना लागू गरेपनि त्यसलाई कार्यान्वयन गर्ने निकाय र स्थानीय जनताबीच समन्वय हुन जरुरी छ । सुरक्षा निकायको साथ र सहयोग लिएर सुरक्षा योजना पालना गर्नु सबैको कर्तव्य नै हो ।
दसैंतिहारमा आफू बसेको स्थान छाडेर बाहिर अर्थात गाउँघर जानेको संख्या नेपालमा थुप्रै छन् । घर जाँदा प्रहरीलाई जानकारी दिने, किनमेल गर्न सपिङ मल, बजार वा अन्य स्थानमा जादा सकभर रकम नलिइ जाने बानी बसाल्नु उचित हुन्छ ।
त्यस्तै लुटपाटबाट जोगिन नगद रकम नबोक्न समेत प्रहरीले आग्रह गरिसकेको छ । चाडवाडमा किनमेल गर्दा विद्युतीय भुक्तानीमार्फत कारोबार गर्न आग्रह गरेको छ । रकम बोकेर किनमेल गर्दा चोरी हुने सम्भावना बढेपछि स्थानीय प्रशासनले समेत नगद रकम नबोक्न आग्रह गरेको हो ।
प्रहरीको सुरक्षा योजना लागू भएपछि हामी ढुक्क छौ, भन्ने भावना नभै प्रहरीकै सल्लाहमा सँगसँगै सुरक्षा व्यवस्था कार्यान्वयन गर्नु स्थानीयको पनि दायित्व हो ।
बढी भिडभाड हुने क्षेत्रमा बिहान ६ देखि बेलुकी ७ बजेसम्म गस्ती गर्ने, मुख्य चोक, सपिङ मल, गहना पसल, बैक तथा वित्तीय संस्था लगायतका क्षेत्रमा आवश्यकताको आधारमा २४ सै घण्टा प्रहरी परिचान गरिनुपर्छ ।
घर खाली भएको मौका छोपेर दिउँसै चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गर्न एम्बुसिङ टोली परिचालन गरिसकेको छ । प्रहरीले विशेष सुरक्षा रणनीति अपनाएर मात्रै व्यवस्थित रुपमा जनता सुरक्षित हुनसक्छन ।
हुन त प्रहरीले क्विक रेस्पोन्स टिम (क्युआरटी), नाकासिल, कर्डन एण्ड सर्च, सादा पोशाकका प्रहरी परिचालन, साइकल, मोटरसाइकल गस्ती र कालोबजार नियन्त्रण गर्न प्रहरी परिचालन हुने गर्छन् ।
त्यतिले मात्रै पुग्दैन स्थानीय सामुदायिक प्रहरी साझेदारी अन्तर्गत पर्चा पम्प्लेट वितरण गरेरपनि सुरक्षा सचेतना दिन सकिन्छ भन्ने विषयमा ध्यान दिनु आवश्यक छ । यसको लागि प्रहरी र नागरिक दुवैको उत्तिकै भूमिका हुनेछ ।
त्यस्तै जुवातास नियन्त्रण, जथाभावी हुलहुज्जत गर्ने माथि कारबाही, चोरी गरेर भाग्ने, गुण्डागर्दी नियन्त्रण गर्ने सबै जिल्लाले प्रहरी परिचालन गर्ने योजना बनाएर लागू गरेको हुन्छ । प्रहरीले गरेको सुरक्षालाई सबैले सहयोग गरेपछि मात्र चाडवाडमा पुर्ण सुरक्षाको प्रत्याभुति दिन सकिन्छ ।
