काठमाडौं । मंगलबार बझाङमा गएको भूकम्पका कारण खसेको पहिरोमा परि बेपत्ता एक महिलाको शव भेटिएको छ । टिमुर टिप्न हिजो दिउँसो गाउँनजिकैको जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४५ वर्षकी गुनदेवी धामीको शव भेटिएको हो ।
पहिरोमा च्यापिएको अवस्थामा रहेको शव निकाल्न जिल्ला प्रहरी कार्यालय, बझाङबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) दीपेश चौधरीको नेतृत्वमा टोली खटिएको थियो । भूकम्पबाट बझाङमा मात्रै १८ जना घाइते भएका छन् ।
भूकम्पले सदरमुकाम चैनपुरसहित आसपास गाउँका केही घर, विद्यालय र वडा कार्यालय गरी अहिलेसम्म एक सय ६० भन्दा धेरै भौतिक संरचनामा क्षति पुगेको तथ्याङ्क छ ।
भूकम्पपछि गएको सुक्खा पहिरोका कारण अवरुद्ध जयपृथ्वी राजमार्ग अहिलेसम्म खुल्न सकेको छैन । जयपृथ्वीको माल्लालाग्ना भिर र छविस पाथीभेराको जालेबगरलगायतका ठाउँमा पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको हो ।
सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु बनाएर हिजो दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का बझाङका साथै बाजुरा, डोटी, बैतडी र भारतको दिल्लीसम्म महसुस गरिएको थियो ।
