वीरगञ्ज । प्रहरीले पर्साको जगरनाथपुर गाउँपालिकाको कान्तिदेवी बिनको हत्यामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा उनकै सहोदर जेठाजुद्वय र अर्का एक स्थानीय पक्राउ परेका हुन् ।
गत २ असोजमा जगरनाथपुर गाउँपालिका– ५ मसिहानी निवासी ५६ वर्षीय कान्तिदेवी बिनको हत्या भएको थियो । हत्या आरोपमा उनकै सहोदर जेठाजुद्वय ५९ वर्षीय चन्द्रिका राउत, ५७ वर्ष अमिरिका राउत बिन र स्थानीय ३६ वर्षीय लालबाबु राउत बिन पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ परेका उनीहरुलाई मंगलबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ । पर्सा प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाहले बिनको हत्या आरोपमा ३ जना पक्राउ परेको जानकारी दिए ।
एक्लै बस्दै आएकी कान्तिदेवीसँग रहेको दुई लाख ५० हजार रुपैयाँ चोर्ने नियतले घरमा प्रवेश उनीहरुले बिनको टाउकोमा धारिलो हतियार प्रहार गरी बेहोस बनाएर घाँटी रेटी हत्या गरेको अनुसन्धानबाट खुलेको एसपी शाहले बताए ।
यता, कान्तिदेवीका श्रीमानको १० वर्षअघि मृत्यु भइसकेको छ । त्यस्तै दुई छोराहरू कामको सिलसिलामा नेपाल बाहिर छन् भने तिन जना छोरीहरू समेत विवाह गरेर अन्यत्र बस्दै आएको प्रहरीले जनाएको छ ।
एसपी शाहकाअनुसार गत १ असोज मध्यराती चन्द्रिका, अमिरिका र लालबाबु मृतक कान्तिदेवीको फुसको घरमा चोरी गर्न सेन काटेर (सुरुङ खनेर) प्रवेश गरेका थिए ।
उनीहरू प्रवेश गरेको आवाज सुनेपछि घरमै सुतिरहेकी कान्तिदेवीले ब्युँझिइन । कान्तिदेवी ब्युँझिएपछि उनीहरूबिच विवाद सुरु भयो । त्यही क्रममा होहल्ला भएपछि एक जनाले कान्तिदेवीको टाउकोमा धारिलो हतियारले प्रहार गरेर उनलाई बेहोस बनाए ।
‘कान्तिदेवी बेहोस भए पनि आफ्नो पहिचान खुल्ने भयले उनीहरूले सिरानीबाट उनको मुख थुनेर खुर्पी (धारिलो हतियार) ले घाँटी रेटेर हत्या गरे,’ एसपी शाहले पत्रकार सम्मेलनमा भने ।
पक्राउ परेकामध्ये तिनैजनाले प्रहरीलाई बयान दिने क्रममा कान्तिदेवीको हत्या गरेको स्वीकार समेत गरेका छन् ।
मृतकका एक्ला छोरा अर्जुन मुखिया बिन वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा रहेको हुँदा नारायणी अस्पतालमा पोस्टमार्टम पश्चात् कान्तिदेवीको शव अहिले पक्राउ परेका जेठाजु चन्द्रिकाले नै बुझेर लगी दाहसंस्कार समेत गरेको एसपी शाहले बताए ।
आमाको मृत्युको खबर पाएर घर फर्किएका मृतक कान्तिदेवीका छोरा अर्जुनले ७ असोजमा प्रहरीमा किटानी जाहेरी दिएपछि सोही दिन प्रहरीले लालबाबुलाई पक्राउ गरिएको थियो । लालबाबु पक्राउ परेपछि उनले दिएको बयानको आधारमा चन्द्रिका र अमिरिकालाई १४ असोजमा पक्राउ गरिएको थियो ।
