सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले सुरक्षित रहेर चाडपर्व मनाउन आग्रह गरेको छ । मंगलबार एक वक्तव्य जारी गर्दै सल्यान प्रहरीले चाडपर्वलक्षित सूचनामार्फत सभ्यतापूर्वक सुरक्षित रहेर विजया दशमी, तिहार र छठजस्ता पर्व मनाउन आग्रह गरेको हो ।
सल्यान प्रहरीले घर तथा कोठा छोडेर अन्यत्र जानुपर्दा घरको झ्याल–ढोका राम्रोसँग बन्द गरी नजिकको विश्वासिलो छिमेकीलाई खबर गरी जान, आफ्नो घर कोठामा भाडामा बस्ने व्यक्ति तथा काम गर्ने मानिसहरूको स्पष्ट नाम, थर, वतन, परिचय खुल्ने कागजात, फोटोसहितको अभिलेख राख्न र बहुमूल्य गरगहना लगाएर कुनै मेला पर्व तथा भीडभाडमा नजान आग्रह गरेको छ ।
त्यस्तै भीडभाड हुने स्थानहरूमा सामान चोरी तथा पाकेटमारी हुन सक्ने हुँदा चनाखो रहन, यात्रा गर्ने क्रममा अपरिचित मानिससँग घुलमिल भई व्यक्तिगत गोपनीयता नखोल्न र अपरिचित व्यक्तिले दिएको कुनै पनि किसिमको तरल पदार्थ वा खानेकुरा नखान समेत आग्रह गरेको छ ।
यस्तै सुन तथा डलर साट्ने नाममा अपराधिक गिरोहले झुक्याउन सक्ने हुनाले त्यस्तो गिरोहको लोमभा नफसिन, आफ्नो वरिपरि शंकास्पद गतिविधि भएमा प्रहरीलाई खबर गर्न समेत आग्रह गरेको छ ।
घर टोल सुरक्षाका लागि सबै मिली सिसिटिभी तथा इमरजेन्सी साइरन जडान गरी सुरक्षाका उपायहरू अपनाउन, चाडपर्वको नाममा कानुनले निषेध गरेका क्रियाकलापहरु जुवातास, नखेल्न र खेल्न नदिन, पटाका, भुइँचम्पा, आतिसबाजीलगायतका विष्फोटक पदार्थले मानवी, भौतिक एवं वातावरणीय क्षति क्षेती पुग्ने भएकोले यसको प्रयोग नगर्ने, नशालु तथा मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन प्रहरीले अनुरोध गरेको छ ।
अपराध नियन्त्रण तथा अपराधरहित समाजको निर्माणमा प्रहरीलाई सहयोग र कुनै पनि समस्या परेमा नजिकको प्रहरीलाई खबर गर्न तथा १०० नम्बरमा खबर गर्ने अनुरोध गरेको छ ।
सल्यान प्रहरी प्रमुख डीएसपी नवीन कार्कीले भने, ‘अवाञ्छित क्रियाकलाप गर्ने जोकोहीलाई कारबाही हुन्छ, समाजमा अमनचैन कायम राख्न प्रहरीलाई नागरिकको सहयोग आवश्यक छ ।’
गैरकानुनी क्रियाकलापमा संलग्न हुने र अवाञ्छित क्रियाकलापमा संलग्न हुनेलाई ठाउँको ठाउँ कारबाही हुने डीएसपी कार्कीले बताए ।


