काठमाडौं । सामाजिक विभेद, दलन र आत्मसम्मानमाथि चोट खान अभिशप्त वादी समुदायबाट आएर सबैको साथ र सहयोगमा माथि उठेकी पात्र हुन् देवीसरा वादी ।
‘खुकुरीको चोट अचानो’लाई मात्र थाहा हुन्छ भनेजस्तो यो समुदायले झेलेको भुक्तमान र पीडा उनले जति अन्य समुदायकाले सायदै बुझ्न सक्लान् ।
त्यसैले पनि तिनको घाउमा मल्हम लगाउने काम अन्यले भन्दा उनले राम्रोसँग गर्न सक्थिन् । यो उनको धर्म र कर्तव्य पनि थियो ।
गोकर्णेश्वर–६, काठमाडौंमा यही प्रयोजनार्थ उनले हिमालयन इन्टरप्रेनर्स रिसोर्सेस नामको संस्था सञ्चालन पनि गर्दै आइरहेकी छन् ।
वादी सदुदायको उत्थानमा सहयोग पुर्याउन खोलिएको संस्थालाई पत्याएर दाताले कुस्ता रकम उनको संस्थालाई खन्याइरहेका छन् ।
तर हात्तीको देखाउने र चपाउने दाँत फरक भएजस्तै एकथोक भनेर अर्कोथोक गर्ने गरेको पाइएको छ । दाताको चाहनाविपरीत आफ्नो समुदायमाथि लात हान्दै सहयोग रकम मनपरी खर्च गरेपछि उनकै संस्थाका कर्मचारी रुष्ट बनेका छन् ।
देवीसराको संस्था हिमालयनले वादी समुदायका लागि काम गर्ने भन्दै विभिन्न विदेशी डोनरबाट रकम माग गर्ने गरेकोमा केही वर्षदेखि वार्षिक दशौं लाख डलर रकम दाताले विश्वास गरेर उनको संस्थालाई खन्याउने गरेको स्रोतले बतायो ।
दाताले पिछडिएको सीमान्तकृत यो समुदायका लागि उद्दार मनका साथ सहयोग गर्दै आइरहे पनि देवीसराले यो समुदायका लागि ठोस काम नगरेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।
वादी समुदायका महिला अहिले पनि यौन पेशा अगाल्न बाध्य छन् । गरिबी र अशिक्षाले पनि यो समुदाय उत्तिकै ग्रस्त छ । खासमा यो समुदायका महिलालाई पुरानो पेशाबाट बाहिर निकाल्नु अहिलेको आवश्यकता हो ।
वादी समुदायका महिलाले झेलेको मूल समस्या यस्तो भए पनि उनको संस्थाले आवश्यकतामा आधारित भएर कुनै कार्यक्रम सञ्चालन गरेको छैन ।
स्रोतका अनुसार, हिमालयले वादी समुदायका महिलालाई पिरियडका बेला थप स्वास्थ्य समस्या नआओस् भन्नका खातिर सेनेटरी प्याड वितरण गरिरहेको गरेको छ ।
वादी समुदायकी एक महिलाले उनको संस्थाको यो कार्यक्रम खान नपाएको भोको मान्छेलाई किताब कापी किनिदिएजस्तो भएको टिप्पणी गरिन् ।
वादी समुदायका महिलाको आवश्यकताविपरीत कार्यक्रम सञ्चालन गरिएको जिकिर संस्थाले गरे पनि वादी समुदायका महिलाको हातमा अहिलेसम्म प्याड परेको कसैलाई पनि थाहा छैन ।
दर्ता नगरी संस्था सञ्चालन
विदेशी दाताबाट रकम लिएर सामाजिक संस्था सञ्चालन गर्न समाज कल्याण परिषद्मा दर्ता गरिएको हुनुपर्छ । दर्ताबिना कुनै पनि सामाजिक संस्थाले काम गर्न पाउँदैनन् । गरेमा त्यो गैरकानूनी ठहर्छ ।
सामाजिक कार्यको आवरणमा हिमालयनले वार्षिक दशौं लाख डलर भित्राइरहेको भए पनि यो संस्था समाज कल्याण परिषद्मा दर्तासम्म नभएको पाइएको छ ।
समाज कल्याण परिषद्ले विदेशबाट आएको सहयोग स्वीकृत नगरी खर्च गर्नु गैरकानूनी भएको बताएको छ । यस्ता संस्थाबारे कसैले उजुरी गरेमा छानबिन गरेर दोषी भेटिएको अवस्थामा कारबाही गर्ने परिषद्को प्रतिबद्धता छ ।
आफन्तको राइँदाइँ
संस्थाका लागि आवश्यक कर्मचारीमा पनि देवीसराले आफन्त मात्र राखेकी छन् । यति मात्र होइन, सञ्चालक समितिमा पनि उनका परिवारका सदस्यको हालीमुहाली छ ।
स्रोतले देवीसराको संस्थामा परिवार बाहिरकालाई अघोषित रूपमा प्रतिबन्ध नै लगाइएको बतायो ।
‘उनको संस्थाको सञ्चालक समिति सदस्य र कर्मचारी सबै परिवारका सदस्य छन् । यसले उनको संस्थामा अन्यलाई निषेध रहेको देखाउँछ,’ स्रोतले भन्यो ।
छैन संस्थागत निर्णय
कुनै पनि संघ–संस्था सामूहिक निर्णयमा चल्नुपर्छ । लोकतन्त्रमा यो अझै अपरिहार्य हुनुपर्छ । वर्षौं दलन र थिचोमिचोमा परेको वादी समुदायबाट आएकाले देवीसराले त यसलाई उदाहरणीय बनाउँदै लैजानुपथ्र्यो ।
तर उनको संस्थाको आन्तरिक लोकतन्त्र हरिविजोग छ । स्रोतका अनुसार, उनले संस्थागत निर्णय नगरी मनपरी ढंगले गर्ने आफ्नो काम गर्ने गरेकी छन् ।
‘संस्थागत निर्णय भनेको के हो हामीलाई थाहा छैन,’ उनको संस्थामा कार्यरत एक कर्मचारीले भने, ‘उहाँलाई जे लाग्छ, त्यही गर्नुहुन्छ ।’
संस्थागत निर्णय नहुने भएकाले संस्थामा आर्थिक अनियमिततासमेत चुलिएको छ । हुँदै नभएका कामलाई कागजमा देखाएर भ्रम छर्दै देवीसराले आर्थिक लाभ लिने गरेको त्यहीका एक कर्मचारीले नाम गोप्य राखिदिने सर्तमा बताए ।
यसबारे जानकारी लिन हामीले देवीसराको मोबाइल फोनमा पटक पटक सम्पर्कको प्रयास गरेका थियौं । तर उनको फोन उठेन ।
दातालाई एउटा रिपोर्ट, आफूलाई अर्कै
सहयोग गर्ने दाताले ती संस्थाहरूबाट रिपोर्ट खोज्छन् । आफूले गरेको सहयोग सदुपयोग भए/नभएको उनीहरूले त्यसैलाई हेरेर थाहा पाउँछन् ।
हिमालयनले पनि दातालाई नियमित रिपोर्ट पठाउने गरेको छ । तर दातालाई साँचो रिपोर्ट नपठाएर फर्जी दिने गरेको पाइएको छ । वास्तविक रिपोर्टले दाताबाट सहयोग नहुने भएकाले हिमालयले यस्तो फर्जी रिपोर्ट दातालाई बुझाउने गरेको हो ।
‘दातालाई गुमराहमा पार्न यो संस्थाले आफूलाई एउटा र दातालाई अर्कै रिपोर्ट पेश गर्ने गरेको छ,’ स्रोतले भन्यो ।
जी–१० मा पनि त्यस्तै ब्रह्मलुट
देवीसराले जी-१० नामको चिल्ड्रेन होम पनि सञ्चालन गर्दै आइरहेकी छन् । हिमायलयजस्तै यसलाई पनि उनले डलर खेती गर्ने अखडा बनाएकी छन् ।
नियमतः बाल गृह सञ्चालन गर्न केन्द्रीय बाल परिषद्मा दर्ता गर्नुपर्छ । तर देवीसराले उक्त बालगृह बिना दर्ता सञ्चालन गर्दै आइरहेकी छन् ।
‘सबैले यसलाई जी-१० भनेर चिन्छन् । तर यो कहीँ पनि दर्ता छैन । दर्ताबेगर सहयोग ल्याएर अनधिकृत ढंगले सञ्चालन भइरहेको छ,’ स्रोतले भन्यो ।
स्रोतका अनुसार, त्यहाँ राखिएका बालबालिकामाथि दुव्र्यवहारसमेत हुने गरेको छ । त्यहाँ आफ्नो सन्तान राखेका एक अभिभावकले आफ्नो छोरीले संस्थाबाट दुव्र्यवहार हुने गरेको गुनासो गरिन् ।
