काठमाडौं । प्रहरीले बागमति प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाइमन्त्रीका भाईलाई पक्राउ गरेको छ । प्रहरीले अपहरण केसमा मन्त्री तीर्थ लामाका भाई भोजे भन्ने भोजबहादुर लामालाई पक्राउ गरेको हो ।
साथी साथी बीचको झगडापछि प्रहरीमा खबर आएपछि लामालाई सामाखुसीको एक रेष्टुरेन्टमा पक्राउ गरिएको प्रहरी वृत्त, महाराजगञ्ज स्रोतले जनाएको छ ।
वृत्तमा कार्यरत एक प्रहरीले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ । पीडितहरु प्रहरी कार्यालयमा उपस्थित भएका छन्, छलफल गर्दैछौं । यद्यपी बाँकी कुरा अनुसन्धानपछि मात्र भन्न मिल्नेछ ।’
तर, काभ्रे घर भएका लामाले काभ्रेकै बुद्धचित्त माला व्यापारीलाई अपहरण गरेको स्रोत बताउँछ । माला बेचेको कमिसन नदिएको भन्दै लामाले अपहरण गरेको हुनसक्ने बुझिएको छ । यद्यपी यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
भाजबहादुरले कोटेश्वरबाट दरबारमार्ग, ठमेल, हुँदै सामाखुसीको एक रेष्टुरेन्टमा लगेर कुटपिट गर्न थालेपछि १०० मा प्रहरीलाई फोन गरेर जानकारी दिइएको थियो । ती माला व्यापारीलाई ट्याक्सीमा राखेर ३ घण्टासम्म घुमाएर फोन समेत जफत गरिएको बताइएको छ ।
यता, मन्त्री लामा तस्करीको सुन प्रकरणमा मुछिएका छन् ।
