काठमाडौं । बलात्कार आरोपमा मुछिएका नेपाल प्रहरीका नायब उपरीक्षक (डिएसपी) दीपककुमार रायले सफाइ पाएका छन् । सप्तरीको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रायले संगठनबाट सफाइ पाएका हुन् ।
केही समयअघि थुनुवा महिलामाथि बलात्कार गरेको उजुरी उनीविरुद्ध परेको थियो । लगत्तै मधेस प्रदेश प्रहरी कार्यालयले बरिष्ठ उपरीक्षक (एसएसपी) प्रवीण पोखरेल नेतृत्वको समितिले छानबिन गरेको थियो ।
समितिले गत साता छानबिन प्रतिवेदन प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआईजी) जनक भट्टराईलाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा विभिन्न कोणबाट छानबिन गर्दा बलात्कार भएको तथ्य नभेटिएको उल्लेख छ ।
थुनुवा महिला महिला प्रहरीसँगै डिएसपीको कार्यकक्षमा गएर निस्किएको सिसीटिभीमा देखिएको प्रतिवेदनमा खलाइएको प्रदेश प्रहरी कार्यालय, जनकपुरमा कार्यरत एक अधिकृतले बताए ।
पक्राउ परेकी महिलाले प्रहरीलाई बलात्कार मुद्दामा फसाइदिने भनेर त्यतीबेला उनीसँग पक्राउ परेका अन्य व्यक्तिसँग बताएकाले पनि प्रतिशोधस्वरुप उनले त्यस्तो आरोप लगाएको हुनसक्ने आंकलन गरिएको छ ।
ती महिला आफ्नै श्रीमानको हत्या आरोपमा गत वैशाखमा पक्राउ परेकी थिइन् । उनले डिएसपी रायले आफ्नो कोठामा बोलाएर बलात्कार गरेको आरोप लगाएकी थिइन् ।
तर, ती महिला हाल पुर्पक्षका लागि हाल जेल चलान भएकी छिन् । बिमा रकम हात पार्न उनले अपराधीसँग मिलेर श्रीमानको हत्या गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको थियो ।
