काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशबाहिर भएको बेला गुप्तचर विभाग प्रमुख हुतराज थापा भारत जान लागेका छन् । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख थापा बुधबार काठमाडौंबाट नयाँ दिल्ली जाने भएका हुन् ।
प्रमुख थापालाई भारतीय ‘रअ’का प्रमुख रवि सिंहले बोलाएपछि नयाँ दिल्ली जान लागेका हुन् । उनी आफ्ना सहयोगीको साथमा भारत जान लागेको विभाग स्रोतले जानकारी दिएको छ ।
गत ११ भदौमा कोरिया गएका थापाले यो वर्ष विभागको वार्षिक उत्सव समेत नमनाएको पाइएको छ । १२ गते विभागको बार्षिक उत्सव थियो । तर उनी अघिल्लो दिन कोरिया उडेका थिए ।
कोरिया जानुअघि उनले नेपालमा पाँच सदस्यीय कोरियन टोलीलाई गत वैशाख १ मा नेपालमा स्वागत गरेका थिए । कोरियाबाट नेशनल इन्टेलिजेन्स सर्भिसका एसिया प्यासिफिक चिफ किम हाओन नेपाल आएका थिए । तर यो विषयलाई गुपचुप राखिएको थियो ।
