काठमाडौं । पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठोरी गाउँपालिका–४ विजयबस्तीका ३४ वर्षीय क्षेत्रबहादुर श्रेष्ठ छन् ।
जिराभवानी गाउँपालिका–१ गम्हरियास्थित सडकखण्डमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगन्ज तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो ।
ना ६१ प ९७०० नम्बरको मोटरसाइकलमा सूवर्णपुरबाट वीरगन्जतर्फ आउँदै गरेका श्रेष्ठलाई रोकेर खानतलासी गर्ने क्रममा मोटरसाइकलको पछाडि सिटबाट चरेस बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक (डीएसपी) कुमार विक्रम थापाका अनुसार सेतो बोराभित्र टेपले र्यापिङ गरी प्रतिप्याकेट ५ सय ग्रामका दरले ६४ प्याकेटमा ३२ किलो चरेस बरामद भएको हो ।
प्रहरीले मोटरसाइकलसहित श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
