काठमाडौं । सल्यान कपुरकोट गाउँपालिका-३ चोरखोला नजिकै सेतापैरास्थित राप्ती राजमार्गमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृतकहरुको सनाखत हुन सकेको छैन ।
रोल्पाबाट दाङतर्फ तरकारी बोकी जाँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ३५० मिटर तल खस्न गई र्दुघटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दाङ तुलसीपुर उपमहानगरपालिका-२ बस्ने ३५ वर्षीय नारायण योगी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रमुख नायब उपरीक्षक (डिएसपी) नवीन कार्कीले जानकारी दिए ।
घाइते योगीलाई उपचारको लागि दांग पठाएको डिएसपी कार्कीले बताए । घटनालगत्तै प्रहरी चौकी कपुरकोट सल्यानबाट प्रहरी नायब निरीक्षक (सई) रतन शर्माको कमाण्डमा टाफिक प्रहरीसहित ७ जनाको टोली घटनास्थलमा पुगेको थियो ।
त्यस्तै इलाका प्रहरी कार्यालय लुहाम सल्यानबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) रेशमलाल पौडेलको कमाण्डमा ७ जनाको टोली समेत घटनास्थल पुगेर घाइतेको उद्दार गरेर अस्पताल पठाएको डिएसपी कार्कीले बताए ।
घटनास्थल चौकीबाट ५ किलोमिटर दक्षिण र इप्रका लुहाम सल्यानबाट २१ किलोमिटर पूर्वमा पर्छ । दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
