काठमाडौं । कोशी प्रदेशको ६ जिल्लाको सुरक्षा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम आज विराटनगरमा हुँदैछ । बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित गृह सचिव र तीनवटै सुरक्षा निकायका प्रमुख पनि विराटनगर पुगिसकेका छन् ।
पछिल्लो समयमा कोशीमा देखिएको शान्ति सुरक्षाको चुनौती र त्यहाँ देखिएका समस्याहरूको पहिचानका लागि गृहमन्त्री श्रेष्ठ आइतबार नै विराटनगर पुगेका हुन् ।
जहाँ नेपाल प्रहरीका महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धानका विभागका प्रमुख र सांसदसहितले बैठकमा ब्रिफिङ लिने प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
उनीहरू कोशी प्रदेशका विभिन्न ठाउँमा देखिएका समस्याको पहिचान तथा समाधान पहल गर्ने गरी तीन दिनसम्म कोशी प्रदेशमै रहने बताइएको छ । कोशी प्रदेशमा पछिल्लो समय पहिचानको आन्दोलन र अन्य विभिन्न चलखेल बढेको प्रहरीको निष्कर्ष छ ।
सुरक्षा सम्बन्धी छलफल गृहमन्त्री श्रेष्ठले साढे ८ बजे उद्घाटन गरेपछि कोशी प्रदेशको ६ जिल्लाका प्रमुखले जिल्लागत सुरक्षा अवस्थाबारे ब्रिफिङ गर्नेछन् ।
छलफलमा इलाम, झापा, धनकुटा, उदयपुर, सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारीहरूले जिल्लागत सुरक्षा अवस्थाबारेमा गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरू समक्ष ब्रिफिङ गर्ने कार्यतालिका रहेको छ ।
जिल्लागत रुपमा सुरक्षा अवस्था प्रस्तुत गरेपछि तीनवटै सुरक्षा निकायका कोशी प्रदेशका प्रमुखहरुले त्यसपछि ब्रिफिङ गर्ने कार्यसूची तोकिएको छ । बैठक विराटनगरस्थित बिग होटेलमा सञ्चालन हुनेछ ।
