काठमाडौं । ५ चैत २०५१ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट सेवा प्रवेश गरेको टोलीका महानिरीक्षक छन् बसन्त बहादुर कुँवर । उनका ब्याचीहरु अतिरिक्त महानिरीक्षक (एआईजी) र नायब महानिरीक्षक (डिआईजी) छन् ।
कुँवर संगठनको ३० औं आईजीपी हुन् । उनले आफ्नो ३० वर्षे कार्यकाल पूरै खाँदा २०८१ चैत ४ गतेसम्म प्रहरीको नेतृत्वमा रहनेछन् । तर, अहिलेको प्रहरी नियमावली कायम रहेमा उनका १६ जना ब्याचीहरु भने उमेरहदका कारण बीचमै अवकाशमा जानेछन् ।
अहिलेकै प्रहरी नियमावली कायम रहेमा आईजी कुँवरका सबै ब्याचमेट भने पूरै कार्यकाल सेवामा रहन पाउँदैनन् । २०८१ पुस १५ गतेसम्म आईजी कुँवरका १६ जना ब्याचमेटले अवकाश पाउने प्रधान कार्यालयका एक अधिकृत बताउँछन् ।
जसमा ४ जना एआईजी र १२ जना डिआईजीले अनिवार्य अवकाश पाउने हुन् । अवकाश पाउने एआईजीहरुमा श्यामलाल ज्ञवाली, सन्दीप भण्डारी, मिरा चौधरी थारु र किरण बज्राचार्य रहेका छन् ।
प्रहरी प्रधान कार्यालय, नक्सालकाअनुसार एआईजी ज्ञवाली २०८० चैत २१ गते, एआईजी भण्डारी २०८१ वैशाख ४ गते, चौधरी २०८१ वैशाख ६ गते र बज्राचार्य २०८१ पुस १५ गते अवकाशमा जानेछन् । एआईजी टेकप्रसाद राई भने आईजी कुँवरसँगै अवकाशमा जानेछन् ।
त्यस्तै डिआईजी विकासराज खनालले २०८१ वैशाख ७ गते, सुरेन्द्र प्रसाद मैनालीले जेठ १० गते, उमेशराज जोशीले असार १८ गते, पोषराज पोखरेलले असार २० गते, यज्ञविनोद पोखरेलले असोज १४ गते अवकाश पाउनेछन् ।
त्यसैगरी, राजेशनाथ बास्तोलाले कात्तिक ११ गते, किरण राणाले कात्तिक १५ गते, रामदत्त जोशीले कात्तिक १७ गते, केदार ढकालले मंसिर २१ गते, भिमप्रसाद ढकालले मंसिर २७ गते, अर्जुन चन्द ठकुरीले पुस १ गते र भरतबहादुर बोहराले पुस १३ गते अवकाश पाउने प्रधान कार्यालयले जनाएको छ ।
यदी ३० वर्षे सेवाअवधि हटेमा उनीहरुको कार्यकाल लम्बिनेछ । जसको लागि वर्तमान सरकारका प्रधानमन्त्री र गृहमन्त्री सकारात्मक समेत रहेको बुझिएको छ ।
