काठमाडौं । (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार जसरी भए पनि हटाउनुपर्ने बताएका छन् ।
आइतबार ओखलढुङ्गाको रामपुरमा गुरु लुइँटेल स्मृति पार्कको उद्घाटनपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नौ महिनामा सरकारले एउटा सिन्को पनि नभाँचेको बताए ।
‘अनि अहिलेको यो सरकार बसिरहनु हुन्छ, तपाईँहरू भन्नुस् त ? यस्तो सरकार राख्न हुन्छ ? तपाई हामी नेपाली जनताले यो सरकार जुनसुकै तरिकाले भए पनि टिपेर मिल्काउनुपर्ने अवस्था आइसक्यो’, ओलीले भने ‘यति नालायक सरकार । जनता हेर्दैन, सुनतिर हेर्छ यो सरकार ।’
उनले सरकारले नै भ्रष्टाचार, कुशासन र हिंसालाई प्रोत्साहन गरिरहेको आरोप लगाए । ‘ब्रेक सु ल्याउँछ–सुन, सिगरेट ल्याउँछ–सुन, पानी तान्ने मेसिन भन्छ–सुन । स्याउ ल्याउँछ–सुन’, उनले भने ।
