काठमाडौं । कर्णाली प्रदेशमा प्रहरी जवान १३९ औं समूहको आधारभूत तालिममा सहभागी १७८ पुरुष र १२२ महिला गरेर ३०० जना प्रहरी जवानहरु दीक्षित भएका छन् ।
कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतले नेपालगन्जमा दीक्षान्त समारोहको आयोजना गरेर आधारभूत तालिम प्राप्त गरेका तीन सय जना जवानलाई दीक्षित गरेर कार्यक्षेत्रमा पठाएको हो ।
कर्णाली प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआईजी) भीमप्रसाद ढकालले आधारभूत तालिम प्राप्त गरेका जवानहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेर कार्यक्षेत्रमा प्रवेश गराएका थिए ।
डिआईजी ढकालले तालिम प्राप्त गरेर कार्यक्षेत्रमा प्रवेश गर्नुहुने सबै प्रहरीलाई आम नागरिकको सेवालाई मुख्य केन्द्र बनाएर काम गर्न निर्देशन समेत दिए ।
तालिम पाएका प्रहरी जवानहरुलाई सो अवसरमा सम्बोधन गर्दै डिआईजी ढकालले समयको परिवर्तनसँगै नयाँ प्रकृतिका आपराधिक क्रियाक्लाप बढ्दै गएकोले प्रहरीलाई चुनौती बढेको जनाउँदै प्रहरीले पनि नयाँ तरिकाले अनुसन्धान र नियन्त्रण कार्य गर्नुपर्ने बताए ।
देशको अति दुर्गमदेखि अति सुगम सबै स्थानमा राज्यको उपस्थिति देखाउने माध्यम प्रहरी मात्रै भएको जनाउँदै प्रहरीले सरकारको प्रतिनिधि भएर काम गर्नुपर्ने डिआईजी ढकालको भनाइ थियो ।
उनले कर्णाली प्रदेशको सुरक्षालाई चुस्त दुरुस्त बनाउन सुरक्षित कर्णाली भन्ने अभियान सञ्चालन गरिएको जनाउँदै सो अभियानको सफलताका लागि काम गर्न प्रदेशका सबै प्रहरीसँग आग्रह गरे ।

सोही अवसरमा डिआईजी ढकालले तालिममा उत्कृष्ट स्थान प्राप्त गर्ने प्रशिक्षार्थी र राम्रो तालिम दिने प्रशिक्षकलाई प्रमाणपत्र र पुरस्कार वितरण गरे ।
कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगन्जका समादेशक वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलसिंह राठौरले २०७९ कात्तिक २० गतेबाट सुरु भई २ सय ३४ दिनसम्म सञ्चालन गरिएको प्रहरी जवानको सो आधारभूत तालिममा ३०० जना प्रशिक्षार्थीले तालिम पूरा गरेको जानकारी दिए ।
तालिम संयोजक नायब उपरीक्षक (डिएसपी) ज्ञानेन्द्रबहादुर बस्नेतले तालिम प्रतिवेदन प्रस्तुत गरेका सो कार्यक्रममा नेपाली सेनाका महासेनानी मनोज थापा, सशस्त्र प्रहरी नम्बर ५ विन्दवासिनी वाहिनी मुख्यालयका प्रमुख डिआईजी अभि खत्री, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा लगायत बाँके, बर्दिया र सुर्खेतका प्रहरी प्रमुखहरुको उपस्थिति थियो ।
