काठमाडौं । भोजपुर प्रहरीले कर्तव्य ज्यान मुद्दामा ३४ वर्षदेखि फरार रहेका एक व्यक्तिलाई पक्राउ गर्न सफल भएको छ । भोजपुरको साल्पासिलिछो गाउँपालिका ५ का ६७ वर्षीय चक्रबहादुर राईलाई प्रहरीले नियन्त्रण लिएको हो ।
२०४६ साल कात्तिकमा स्थानीय बद्रीकुमार राईको हत्या अभियोगमा जिल्ला अदालतले राईलाई सर्वस्वसहित जन्म कैदको फैसला गरेको थियो । तर, अदालतको आदेशलगत्तै उनी फरार भएका थिए ।
फैसला भएको मुद्दा कार्यान्वयन गराउनको लागि प्रहरी हवल्दार चितरंजन मेहताको टोलीले अभियुक्तलाई सुनसरीमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले आइतबार पत्रकारसम्मलेनमार्फत जानकारी दिएको हो ।
फरार प्रतिवादी राईले स्थानीय बुद्धिकुमारको घरेलु हतियार खुकुरी प्रयोग गरी दुवै हात छिनाएर गम्भीर घाइते बनाएका थिए । बुद्धिबहादुरको उपचारको क्रममा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।
