काठमाडौ । इलाका प्रहरी कार्यालय महेशपुर, नवलपरासीले ४६ लाख ५० हजार मुल्य बराबरको अवैध मालसामानसहित एक जनालाई पक्राउ गरेको जनाएको छ ।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) फल बहादुर तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले भुजहवादेखि परासी आउँदै गरेको ना ६ ख ४७१६ नम्बरको कन्टेनरलाई सरावल-६ गुजरवाटोलमा रोकेर चेकजाँच गर्दा भन्सार छली गरी ल्याएको सामान प्रहरीले बरामद गरेको हो ।
सामानसहित कन्टेनर चालक सरावल गाउँपालिका- ५ धनगढवा बस्ने बशिष्ठ थारुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक (डिएसपी) रेशम बोहोराले जानकारी दिए ।
भन्सार छलीको सामान अबैध रुपमा ल्याउँदै गरेको २७ लाख ५० हजार ६ सय मुल्य बराबरको जुत्ता, चप्पल, ताला, चाली, कालोपेन, फुल स्प्रे, पेन्टिङ ब्रस, पेन्सिल, इरेजरलगायत घरायसी सामान र १९ लाख रुपैयाँ बराबरको कन्टेनर गरी कुल ४६ लाख ५० हजार मुल्य बराबरको अवैध मालसामान बरामद भएको हो ।
बरामद सामान, कन्टेनर र चालकलाई आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
