दाङ । दाङको तुलसीपुरमा दिनदाहाडै एक व्यक्तिले अन्धाधुन्द खुकुरी प्रहार गरि एक महिलाको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका-११ बेलटाकुराका ३९ बर्षीय टेकबहादुर हमालले अन्धाधुन्द खुकुरी प्रहार गरेका हुन् ।
शनिबार दिउँसो सवा दुई बजेतिर घरबाट खुकुरी लिएर निस्केका हमालले घरमै बसिरहेकी छिमेकी ४३ बर्षीया रिता लामिछानेको हत्या गरेका हुन् । उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ठाकुर पोखरेलका अनुसार हमालले अन्धाधुन्द खुकुरी प्रहार गर्दा लामिछानेको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै अन्य दुईजना समेत घाइते भएको डिएसपी पोखरेलले बताए ।
खुकुरी प्रहारबाट स्थानीय अन्दाजी ६५ बर्षीया कमला (चन्द्रकुमारी) हमाल र उनका छोरा ४५ बर्षीय बीरबहादुर हमाल गम्भीर घाइते भएका छन् ।
कमलालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँके तर्फ रिफर गरिएको छ । उनका छोरा बीरबहादुरको तुलसीपुरमै उपचार भइरहेको छ ।
डिएसपी पोखरेलका अनुसार देउता चढेको भन्दै घरबाट खुकुरी लिई निस्केका हमालले गाउँमा जो भेटिन्छ्न उनैमाथि अन्धाधुन्द खुकुरी प्रहार गरेका थिए ।
प्रहरीले घटनाका आरोपित टेकबहादुरलाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
