चितवन । प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरले प्रहरी कर्मचारीहरूले आ आफ्नो दायित्व कुशलतापूर्वक निर्वाह गरेको खण्डमा संगठनको छवि उच्च हुने बताएका छन् ।
शुक्रबार नेपाल प्रहरी शिक्षालय भरतपुरले आयोजना गरेको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम२ १७८ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुँवरले सो कुरा बताएका हुन् ।
‘संगठनको छवि उच्च कसरी राख्ने प्रहरीले गर्ने काममा निर्भर गर्दछ । जति राम्रो काम गर्यो त्यति संगठनको छवि राम्रो हुन्छ,’ समारोहमा आईजी कुँवरले भने ।
कुँवरले सरकार र प्रहरी संगठनको नीति र उद्देश्य अनुरूप प्रभावकारी रूपमा पुलिसिङ गर्नु नेपाल प्रहरीको मुख्य कार्य रहेको समेत बताए । उनले थपे, ‘प्रहरी शक्ति होइन । राज्यले सुम्पिएको अधिकारीको रुपमा ग्रहण गर्नसक्नुपर्छ ।’
आफ्नो कामको सिलसिलामा प्रहरी कर्मचारीहरू कुनै पनि किसिमको दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्नुपर्ने कुँवरको भनाइ थियो । कानूनभन्दा कोही पनि माथि नभएको भन्दै प्रहरी कर्मचारीहरू प्रहरी आचरण तथा व्यावसायिकता भन्दा बाहिर गएमा कारवाही गरिने उनले बताए ।
कुँवरले दीक्षित प्रशिक्षार्थीहरूले गरिमामय समारोह समक्ष लिएको सपथले मन, वचन र कर्मले आफ्नो जिम्मेवारीको पालना गर्न उत्प्रेरित हुनुका साथै आफ्नो कर्तव्यप्रति जवाफदेही बन्न अनुबन्धित भएको बताए ।
उनले कानूनको प्रभावकारी कार्यान्वयनबाट मात्र कानूनी शासन स्थापना हुन सक्ने भएकाले कानून कार्यान्वयन गर्ने क्रममा मानव अधिकारको संरक्षण गर्न संवेदनशील हुन यस आधारभूत तालिमले ज्ञान र सीप प्रदान गरेको कुरामा विश्वस्त रहेको कुरा उल्लेख गरेका थिए ।
मिटरब्याजी, तस्करी, वित्तिय अपराध, सिमावर्ती अपराध, जघन्य अपराध, विद्युतीय अपराध, जबरजस्ती करणी लगायतका अपराध रोकथाम तथा नियन्त्रणमा प्रहरीले अझ सक्रिय भई कार्य सम्पादन गर्ने उनले चर्चा गरे ।
प्रहरी संगठनको श्रीवृद्धि तथा सुदृढिकरणको लागि आगामी दिनमा समेत सञ्चारजगतबाट रचनात्मक सहयोग, सुझाव र समन्वयको सदैव अपेक्षा रहेको उनले बताए ।
आईजी कुँवरको प्रमुख आतिथ्यतामा उत्कृष्ट प्रशिक्षार्थी प्रहरी जवानहरू लगायत उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कार वितरणसँगै दीक्षान्त निर्देशन दिदै तालिमको समापान गरिएको थियो ।
समारोहमा तालिम सम्बन्धि प्रतिवेदन तालिम संयोजक प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले प्रस्तुत गरेका थिए, भने यस शिक्षालयका निर्देशक प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरुलाई सपथ ग्रहण गराउनुको साथै प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका थिए ।
कुल ७ सय २६ जना प्रशिक्षार्थीहरू दीक्षित यस प्रहरी सहायक निरीक्षक आधारभूत तालिममा सर्वप्रथम प्रहरी सहायक निरीक्षक करणकुमार मण्डल, सर्वद्वितीय तथा महिला प्रथम प्रहरी सहायक निरीक्षक संगीता तामाङ, सर्वद्वितीय प्रहरी सहायक निरीक्षक सरोज सुनार, अध्धयन प्रथम प्रहरी सहायक निरीक्षक ज्योतीकमारी तामाङ, कवाज प्रथम प्रहरी सहायक निरीक्षक मनिष गाहा, प्रहरी युक्ति तथा कारवाही प्रथम प्रहरी सहायक निरीक्षक ओमप्रकाश डाँगी, चाँदमारी प्रथम प्रहरी सहायक निरीक्षक सोनुकुमार राम र अतिरिक्त क्रियाकलाप प्रथम प्रहरी सहायक निरीक्षक सुमित विरेन्द्र विश्वकर्मा भएका छन् ।
दीक्षान्त समारोहमा प्रमुख जिल्ला अधिकारी भूपेद्र थापा, चितवन प्रहरी प्रमुख रामेश्वर कार्की लगायतको सहभागी थियो ।
