काठमाडौं । बिहीबारको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले सुरक्षाकर्मीलाई रासनका लागि छुट्याइएको २ सय ३ रुपैयाँ साह्रै न्यून भएको बताए ।
आईजी अर्यालले उक्त रकमले दिनमा चार छाक टार्नुपर्ने बाध्यता रहेको भन्दै गर्दा समितिको बैठकमा उपस्थित सांसदहरुले समेत उक्त कुरालाई चासोको साथ लिएका थिए । जहाँ तालुक मन्त्रालयका मन्त्रीको समेत उपस्थिति थियो ।
हुन पनि हो २ सय ३ रुपैयाँ अत्यन्तै अपुग रकम हो । आईजी अर्यालले सुरक्षाकर्मीहरुलाई रासनरकम अत्यन्तै भएको र यसमा राज्यले ध्यान दिनुपर्ने भनेपछि अहिले सोही विषयमा अनेकन टिकाटिप्पणी भएको छ ।
यस विषयमा सरकारको आधिकारिक धारणा भने आएको छैन । राज्यले चाहेको अवस्थामा तत्कालै सम्भव हुने विषय भएकाले केही समय कुनुपर्ने सशस्त्र प्रहरी बल, हल्चोकमा कार्यरत एक अधिकृत बताउँछन् ।
तर, सँगै सशस्त्र प्रहरी जवान, हवल्दारहरुले खाने खानाको गुणस्तर पनि ठिक छ छैन नेतृत्वले कहिल्यै अनुगमन गरेका छन् ? यदी त्यसो छैन भने गुणस्तर जाँच गर्नुपर्ने माग समेत उठेको छ ।
सामाजिक सञ्जालमा जुन कुरालाई लिएर बहस भएको छ, त्यहाँ क्वालिटीको पनि प्रसंग उठाइएको छ । मातहतका सम्बन्धित कमाण्डहरले खानाको गुणस्तरमा ध्यान दिनुपर्ने माग छ ।
यता, सशस्त्र प्रहरी बलले खानाको गुणस्तर जाँच गरेरै नै खरिद गर्ने गरिएको दाबी गर्छ । तर, केही जवान तथा हवल्दारहरु उक्त कुरालाई स्वीकार्न तयार छैनन् । कमाण्डरले जस्तो पनि खाद्य सामान सस्तो मूल्यमा खरिद गर्ने गरेको आरोप छ ।
त्यसैले आईजी अर्यालले जवान तथा हवल्दारहरुले खाने खानाको गुणस्तरमा समेत ध्यान दिनुपर्ने देखिएको छ । रकम अभाव भन्दा पनि कसरी गुणस्तर खुवाउने भन्नेमा आईजी अर्यालको ध्यान जान पनि जरुरी छ ।
स्मरण रहोस् २०७७ असोजमा बासी र गुणस्तरहिन खानेकुरा खुवाएको पाएपछि सशस्त्र मुख्यालयभित्र रहेको क्यान्टिन नै बन्द गरिएको थियो । गुणस्तरहिन खाना तथा खाजा खुवाएको सम्बन्धि गुनासो बढे पनि त्यसमा कुनै सुधार नआए पछि क्यान्टिन बन्द गरिएको हो ।
सो क्यान्टिन सइ बच्चुराम पुरीले चलाउँदै आएका थिए । शक्तिको आडमा उनले जे गरे पनि छुट जस्तै थियो । तर, अत्याधिक गुनासो बढेपछि सशस्त्र मुख्यालले उनले चलाउँदै आएको क्यान्टिन बाध्य भएर बन्द गराएको हो ।
त्यसैले गुणस्तरहिन खाना अन्य मातहतका गण, बिओपीका कमाण्डहरुले नखुवाउलान् भन्न सकिन्न । मातहतका कमाण्डरहरुकै सेटिङमा क्यान्टिन चलाउने अनुमति दिइन्छ । त्यसैले अनुगमन आवश्यक छ ।
