आदरणीय गुरुवर्ग नमस्कार 🙏🏾
सरकारले हालै ल्याएको नयाँ शिक्षा विधेयकका केही विषयप्रति असहमति र विरोध जनाउँदै देशभरका सरकारी विद्यालयमा अध्यापनरत शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा हुनुहुन्छ । उहाँहरुका माग र विधेयकप्रति विरोधका विषयहरु कति जायज छन् र कति जायज छैनन्, यो एउटा छलफल, बहसको बिषय हुनसक्छ र हुनुपर्छ ।
म व्यक्तिगत रुपमा उहाँहरुले विधेयककाप्रति जनाउनुभएको विरोध र उहाँहरुका मागप्रति केही बुँदाहरुमा सहमत छु । तर, अहिले यो सन्दर्भमा उहाँहरुका कुन(कुन मागमा सहमत छु र कुन(कुन मागमा सहमत छैन भन्ने विषयतर्फ प्रवेश गर्न चाहिँन । आन्दोलनकै बिचमा सरकार र उहाँहरुका बिच वार्ता पनि चलिरहेको छ, आशा गरौँ यसले एउटा सुखद निष्कर्ष दिनेछ ।
यती भूमिका बाँधिसकेपछि यहाँ मैले उठान गर्न खोजेको विषय के हो भने मैले शिक्षकहरुको आन्दोलनको विषयलाई लिएर फेसबुकमा एउटा स्ट्याटस लेखेको थिएँ । मेरो उक्त स्ट्याटसको आशय शिक्षकहरुको आन्दोलनको विरोध थिएन, केवल आन्दोलनको स्वरुपको विरोध थियो ।
पठनपाठन नै बन्द गरेर जुन प्रकारको आन्दोलन भैरहेको छ, म यसको अहिले पनि समर्थन गर्न सक्दिन । मेरो मान्यता कम्तिमा पनि प्राज्ञिक वर्गले गर्ने आन्दोलनको स्वरुप फरक हुनुपर्छ, जसले एकातर्फ विद्यार्थीको पठनपाठन पनि नरोकियोस् र आन्दोलनले सरकारलाई दबाब पनि सिर्जना होस् ।
अरुले झैं शिक्षकले पनि सडक आन्दोलनकै बाटो रोज्नुहुंदैन भन्ने मेरो मान्यता हो । उदाहरणको लागि विरोधका स्वरुपहरु यस्ता पनि हुन सक्दथे । १. देशभरका शिक्षकहरुले एक हप्तासम्म हातमा कालो पट्टि बाँधेर पढाउने । २. दैनिक एक सेसन नपढाउने । ३. भर्चुअल विरोध जनाउने, आदि ।
विरोधका अन्य सबै माध्यम अपनाउँदा पनि सरकारले सुनेन भने बल्ल सडक आन्दोलन अन्तिम विकल्प बनाइनुपथ्र्यो । शिक्षकहरुले त्यो गर्नुभएन । यसले देशभरका सरकारी विद्यालयहरुको पठनपाठन ठप्प हुन पुगेको छ भने नीजि विद्यालयहरुमा पठनपाठन भैरहेकै छ ।
मलाई गजब त के लागेको छ भने मेरो उक्त स्ट्याटसले मेरा गाउँले गुरुहरुलाई खपिनसक्नु भएछ । मानौं कि मैले उक्त स्ट्याटस उहाँहरुलाई नै लक्षित गरेर लेखे जस्तो ।

एउटा सभामा चोर पत्ता लगाउन गाह्रो भएर सिपाहीले चोरको खुट्टा काट भन्दा चोरले खुट्टा लुकाएझैं मेरा मान्य गाउँले गुरु वर्गले यसरी आपत्ति जनाउन जरुरी छैन । मैले समग्र देशको शैक्षीक दुरावस्था र यसमा ल्याउनुपर्ने आमुल परिवर्तनको बारेमा बोलेको हुँ ।
कोही पनि दक्ष शिक्षकले मेरो धारणासँग विमति राख्न सक्दैन । आफुले पढाउने विषयप्रति आफैलाई राम्रो ज्ञान नभएका शिक्षकलाई लटरपटर गरेर पढाएर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने कुनै अधिकार छैन । मेरो बुझाईमा त्यो पनि एक किसिमको जघन्य अपराध हो ।
त्यस्ता शिक्षकले आफैले ग्लानी महसुस गरेर अध्यापन पेशा छोड्दा नै विद्यार्थी र समाजको पनि हित हुन्छ । किनभने अन्य क्षेत्रमा अलिअलि नजान्दा पनि खासै असर पर्दैन तर शिक्षक र डक्टर आफ्नो विषय र पेशामा सत प्रतिशत दक्ष हुनैपर्छ ।
राज्यको ठुलो लगानी शिक्षा र स्वास्थ्यमा हुदाँ पनि नीजि विद्यालयहरु र नीजि अस्पतालहरु नै राम्रा हुनुमा के राज्यको मात्र दोष छ ? के यसमा चिकित्सक र शिक्षकहरुको कुनै दोष छैन ?
हामी आफू आफ्नो कर्तव्यबाट च्यूत हुने अनी दोष जति सबै राज्यको टाउकोमा थोपर्ने हो भने देश कसरी सम्वृद्ध बन्छ ? के हाम्रो राज्यप्रति कुनै सकारात्मक दायित्व छैन ? एक पटक हामी सबैले आफुलाई यी यावत प्रश्नहरुको कठघरामा उभ्याएर आफैलाई प्रश्न गर्यौं भने त्यसको गर्भिलो उत्तर हामी कसैसँग छैन ।
आजलाई यति नै धन्यवाद !
