काठमाडौं । बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयन्दु बालसुधार गृहमा गए रातिदेखि दुई पक्षबीच भएको झडपको स्थिति अझैं नियन्त्रणमा आउन सकेको छैन । झडपको क्रममा एक जनाको मृत्यु समेत भएको छ ।
आपसी झगडाले उग्र रुप लिँदा कपिलवस्तु रुद्रपुरका सुलभ केसीको मृत्यु भएको छ भने १० जना गम्भीर घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ । मृत्यु हुने केसी अपहरण, शरीर बन्धक र जबरजस्ती करणी कसुरमा सुधार गृहमा थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष सिंह राठौरले दुई पक्ष झडपमा उत्रँदा बालसुधार गृहको अवस्था रातभर तनावपूर्ण बनेको जानकारी दिए ।
‘सुधार गृहभित्र भएको के छ केही थाहा छैन । एकजना साधारण मान्छे भित्र जान सकेका छैनन्,’ पत्रकार कृष्ण वलीले भने, ‘तोडफोडबाट भित्रका संरचनाहरु केही बाँकी छैन । अझैं पनि भित्र होहल्ला र हानाहानको अवस्था रहेको छ ।’
