काठमाडौं । ३० भदौ बिहान सल्यानको त्रिवेणी गाउँपालिका–२ थापा टोलकी २९ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरी रितु थापाको शव आफ्नै घरको कोठामा जलेको अवस्थामा फेला परेको थियो ।
जतिबेला ग्यास लिक भएर आगलागी हुँदा जलेर आमा छोरीको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको थियो । तर, सल्यान प्रहरी त्यतिमै सीमित रहेन । आधा शव जलेको अवस्थामा शव भेटेपछि अनुसन्धानको दायरा फराकिलो बनायो ।
अनुसन्धान गर्दै जाने ग्यास लिक भएर आगलागी हुँदा जलेर आमाछोरीको मृत्यु भएको हुनसक्ने अनुमान गरिएपनि हत्या नै भएको सल्यान प्रहरी निष्कर्षमा पुग्छ । त्यसपछि हत्यामा संलग्न आरोपीलाई पक्राउ गर्न सफल हुन्छ सल्यान प्रहरी ।
घटनाको चार दिनपछि सल्यान प्रहरीले हत्यामा संलग्न सिद्धकुमाख गाउँपालिका–२ खानीगाउँका २८ वर्षीय कर्णबहादुर बस्नेत पक्राउ गरेको हो । पक्राउ परेका बस्नेतलाई बिहीबार पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको छ ।
प्रेमको इगो साँध्नको लागि अभियुक्त कर्णले रेवतीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) नविन कार्कीले बताए ।
कर्ण र रेवतीबीच करिब ७ वर्ष पहिलेदेखि प्रेम सम्बन्ध रहेको र बीचमा झगडा परेर छुट्टिएपछि इगो साँध्नको लागि हत्या गरेको अभियुक्तले प्रहरीसमक्ष बयान दिएको डिएसपी र्काी बताउँछन् ।
फेसबुकबाट भएको थियो चिनजान
सल्यान प्रहरीका अनुसार ७ वर्षअघि कर्ण र रेवतीको सामाजिक सञ्जाल फेसबुक मार्फत चिनजान भएको थियो । जतिबेला रेवती अविवाहित थिइन् भने कर्ण विवाहित थिए । तर, पनि उनीहरु एकआपसमा कुराकानी गरिरहन्थे ।
फेसबुकबाट सुरु भएको उनीहरुको कुराकानी केही महिनापछि विस्तारै प्रेममा झांगिन्छ । अनि, शारीरिक सम्बन्ध हुन सम्म पुग्छ । शारीरिक सम्बन्ध राखेको समयमा उनीहरुले सहमतिमै अश्लील फोटो र भिडियोहरु खिचेर राखेका थिए ।
प्रेम सम्बन्ध चलिरहेकै बेला २०७५ सालमा कर्ण रोजगारीका लागि विदेश संयुक्त अरब इमिरेट्स (युएई) गए । त्यसपछि रेवतीले स्थानीय त्रिवेणी गाउँपालिका वडा नम्बर २ झालेढुंगाका सुकलाल थापासँग विवाह गरिन् ।
रेवतीको विहे भएको विषयलाई कर्णले ठूलो धोका र इगोको रुपमा लिएको प्रहरी अनुसन्धानमा खुलेको डिएसपी कार्कीले बताए । कर्ण विवाहित भएपनि रेवतीसँग दोस्रो विवाह गर्न चाहेका थिए ।
‘रेवीतको विवाह भएको २ वर्षपछि फेरि कर्ण र रेवतीबीच फोन तथा फेसबुकलगायतका माध्यामबाट पुनः सम्बन्ध जोडिन पुग्छ,’ डिएसपी कार्कीले भने, ‘तर पुरानो इगो र शारीरिक सम्बन्धका क्रममा लिइएका अश्लील तस्बिर र भिडियोका कारण मनमुटाव सुरु हुन्छ ।’
मनमुटाव बढ्दै जाँदा करिब ८ महिना अगाडिबाट कर्णले रेवतीको हत्या गर्ने योजना बुनेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । ४ महिना अगाडी रेवीतको हत्या गर्नकै लागि कर्णले युएईमा कम्पनीमा बिदा समेत मागेको तर कम्पनीले बिदा नपाएपछि त्यसबेला रोकिएका थिए ।
तर २५ भदौमा युएईबाट नेपाल आएका कर्ण २७ गते आफ्नो घर आइपुगे । घरमा २ दिन बसी योजनाबद्ध रुपमा कर्णले २९ भदौमा बस चढेर श्रीनगर बजारमा गइ पेट्रोल र सलाई किनेर पैदलमार्फत राती मृतकको गाउँमा पुगेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
श्रीनगरबाट मृतकको गाउँ पुग्न करिब २० किलोमिटरको दुरी छ । सोही दिनको राती ९ः५० बजे मृतकको घरभित्र पसेर सुरुमा रेवतीको घाँटी कपडाले कसेर लडाएको र त्यसपछि पेट्रोल छर्केर आगो लगाएको अभियुक्तको बयान उदृत गर्दै प्रहरीले जनाएको छ ।
आगो ओछ्यानमा सल्किन गइ सुतिरहेकी रेवतीकी ९ महिने छोरीको पनि जलेर ज्यान गएको प्रहरीको भनाइ छ । त्यसपछि कर्ण नजिकैको एकजनाको घरमा बास बसी भोलीपल्ट बिहानै आफ्नो घरतर्फ लागेको अनुसन्धान खुलेको छ ।
यता, रेवतीका श्रीमान सुकबहादुर थापा भने रोजगारीका लागि भारतमा थिए । घटनापछि भने उनी घर फर्किएका छन् । अभियुक्तलाई हदैसम्मको कारबाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
यसरी ग्यास लिक भएर आगलागी हुँदा ज्यान गुमाएका भनिएका आमाछोरीको हत्या भएको निष्कर्षमा पुगेपछि प्रहरीले हत्यारा पत्ता लगाउन विभिन्न खाले तरिकाहरु अपनाएको थियो ।
