काठमाडौं । संसदीय समितिले भीभीआईपी तथा भीआईपीहरूलाई मापदण्डविपरित दिइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरुलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले भीभीआईपी र भीआईपीहरुलाई मापदण्डविपरीत उपलब्ध गराइएको सुरक्षा अधिकृत, सवारी चालक र भान्सेहरुलाई १५ दिनभित्र फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो ।
समितिले उनीहरुलाई फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन र समितिलाई जानकारी गराउन पनि अनुरोध गरेको छ । त्यसैगरी, सरकारका मन्त्री तथा पदाधिकारीहरुले नियमानुसार पाउनेभन्दा बढी सवारी साधनहरु प्रयोग गरेको भए सो पनि फिर्ता गर्न निर्देशन दिइएको छ ।
समितिको बैठकले गरेको निर्णयबारे जानकारी दिँदै समिति सभापति रामहरि खतिवडाले भने, ‘नियमअनुसार भीभीआईपी र भीआईपीहरुलाई प्राप्त हुने सुविधा बाहेकका अन्यलाई मापदण्डविपरीत उपलब्ध गराइएका पिएसओ, सवारी चालक र भान्सेहरु कुल कति छन् ?
र मापदण्डविपरीत उपलब्ध गराइएका पिएसओ, सवारी चालक र भान्सेहरु १५ दिनभित्र फिर्ता गरी आफ्नो दरबन्दी भएको ठाउँमा पठाउन नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरियो ।’
