काठमाडौ । प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले जो शक्तिमा हुँदैन र जसको पहुँच छैन् ती व्यक्तिहरूले स्थान नपाएको गुनासो गरेका छन् ।
बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आईजी कुँवरले जसको पहुँच छ, त्यो पहुँचवाला मान्छेले मात्र अवसर पाउने कारणले समस्या आएको बताए ।
उनले भने, ‘प्रहरीभित्र सरूवा मापदण्ड सिनियर अफिसरदेखि कार्यलय सहयोगीसम्मको मापदण्डको त्यहीअनुसारको विधिमा गएका छौं । यहाँ त कस्तो रहेछ भने जसको पहुँच छ, त्यो पहुँचवाला मान्छेले मात्र अवसर पाउने कारणले समस्या आएको छ ।’
सोही कारणले पनि प्रहरीको मनोबल घटेको कुँवरको बुझाई छ । उनले समितिमा बोल्दै नेपाल प्रहरीबाट प्रवाह हुने सेवामा आचरण र व्यवहार सुधार गर्दै लैजानुपर्ने बताए ।
आईजी कुँवरले थपे, ‘अहिले जो ढोका चार्न सक्दैन, जो शक्तिमा हुँदैन, जो पहुँचमा सक्दैन ती व्यक्तिहरूले स्थान नपाएको अवस्था छ । यसको लागि प्रहरीले आफ्नो आचरण र व्यवहार सुधार गर्नुपर्छ ।’
उनले नेपाल प्रहरीले गर्ने कामकारबाहीमा राज्यको अनुहार देखिने भएकाले सेवा प्रवाहमा अरूलाई सहज हुने गरी काम गर्नुपर्ने बताए ।
महानिरीक्षक कुँवरले प्रहरीमा सुन्ने सहनशीलता हुनुपर्ने र बेलाबखतमा प्रहरीलाई लाग्ने गरेको आरोप प्रत्यारोप सहन सक्नुपर्ने बताए ।
उनले सबै कुराहरूलाई स्वीकार गरेर जाने सन्दर्भमा पहिले आफूभित्रको समस्या नै समाधान गर्नुपर्ने बताए । महानिरीक्षक कुँवरले विशुद्ध व्यावसायिक बन्न सक्यो भने आम नागरिकलाई सेवा प्रवाह गर्न सक्ने विश्वास व्यक्त गरे ।
