काठमाडौं । इलाका प्रहरी कार्यालय, कञ्चनपुर सप्तरीका प्रमुख नायब उपरीक्षक (डिएसपी) दीपककुमार रायले थुनुवा महिलामाथि बलात्कार गरेको उजुरीमा मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन टुंगाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) प्रवीण पोखरेल नेतृत्वको समितिले छानबिन सकाएर गत आइतबार प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआइजी) जनकराज भट्टराईलाई प्रतिवेदन बुझाएको हो ।
छानबिनको क्रममा बलात्कार भएको कुनै आधार नभेटिएको स्रोत बताउँछ । थुनुवा महिलासँग महिला प्रहरीसँगै डिएसपीको कार्यकक्षमा गएर निस्किएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
साथै, पक्राउ परेकी महिलाले प्रहरीलाई बलात्कार मुद्दामा फसाइदिने भनेर त्यतीबेला उनीसँग पक्राउ परेका अन्य व्यक्तिसँग बताएकाले पनि प्रतिशोधस्वरुप उनले त्यस्तो आरोप लगाएको हुनसक्ने छानबिन प्रतिवेदनले औंल्याएको छ ।
आफ्नै श्रीमानको हत्या आरोपमा गत बैशाखमा पक्राउ परेकी एक महिलाले डिएसपी रायले आफ्नो कोठामा बोलाएर बलात्कार गरेको आरोप लगाएकी थिइन् । ती महिला हाल पुर्पक्षका लागि हाल जेलमा छिन् ।
बिमा रकम हात पार्न उनले अपराधीसँग मिलेर श्रीमानको हत्या गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको थियो । एउटा कम्पनीबाट जीवनबिमाको रकम लिइसकेको र अर्को कम्पनीबाट पनि ४० लाख लिने तयारी गरिरहेको बेला प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेपछि उनले पैसा निकाल्न पाइनन् । सोही प्रतिशोधमा उनले प्रहरीमाथि यस्तो आरोप लगाएको हुनसक्ने छानबिन समितिले आंकलन गरेको छ । स्थलगत रुपमा सबै पक्षसँग कुरा गरेर छानबिन समितिले प्रतिवेदन बनाएको थियो ।
ती आफुमाथि बलात्कार भएको भनेको दिन डिएसपीको कोठामा अन्य महिला थुनुवा पनि भेट्न गएको सिसीटिभी फुटेजमा देखिएको तर शंकास्पद केही देखिएको छैन ।
उनले पहिलेदेखि नै बलात्कारमा फसाइदिने भनेर धम्की दिएकाले पनि प्रहरीले सो दिनको सिसीटिभी क्यामेराको फुटेज ६ महिनासम्म सुरक्षित राखेको थियो ।
छानबिन समितिले कल डिटेललगायत प्राविधिक रुपमा समेत मूल्याङकन गरेको थियो । त्यसमा पनि कुनै शंकास्पद नदेखिएको उल्लेख छ । घटना शंकास्पद भएको भन्दै प्रहरीले पनि ती महिलाको जाहेरी दर्ता गरेको छैन ।
यसअघि इन्सेक लगायत निकायले पनि घटना शंकास्पद देखिएको भन्दै गम्भीर छानबिनको माग गरेका थिए ।
