काठमाडौं । तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलमा भएको सामूहिक हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तर, ती व्यक्ति आफैं प्रहरी चौकीमा पुगेको खुलेको छ ।
सःमिलभित्रै शुक्रबार राति एकै परिवारका तीन जनासहित चार जनाको हत्या भएको थियो । हत्यापछि ती व्यक्ति ट्याक्सी चढेर प्रहरी वृत्त बानेश्वर पुगेका हुन् ।
ती व्यक्ति हुन् २८ वर्षीय दीपेन्द्र राई । लुगा र जुत्तामा रगतैरगत भएको अवस्थामा उनी प्रहरी चौकी पुगेको बताइएको छ । घटनास्थलबाट बाहिर सडकमा निस्किनासाथ ट्याक्सी भेटेपछि राई सित्रै तीनकुनेको प्रहरी चौकीमा पुगेका थिए ।
यता, प्रहरीले राईलाई प्रहरी चौकी पुर्याउने ट्याक्सी चालकसँग पनि सोधपुछ गरेको छ । सोधपुछका क्रममा चालकले रगत लतपतिएका कपडासहित आएका राईले आफूलाई प्रहरी कार्यालय पुर्याइदिने भनेको बयान दिएका छन् ।
हत्याको कारण भने स्पष्ट भइनसकेको प्रहरी बताउँछ । तर, प्रहरी चौकी पुगेर घटनाबारे जानकारी दिने राई नै सोही हत्यामा संलग्न रहेको प्रहरीको दाबी छ ।
हत्या हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा सुमित्रा भुजेल रहेका छन् । यस्तै मोरङका १९ वर्षका नवीन राई छन् ।
स्रोतका अनुसार हत्या भएका नवीन राई उनका साथी रहेको पाइएको छ ।
उनीहरु चारै जनाको शवलाई अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।
घटनास्थलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुर समेत लगी अनुसन्धान कार्य सुरू गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीले बताए ।
हत्याको अनुसन्धानको जिम्मा भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरलाई दिइएको छ ।
