काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलमा भएको चार जनाको हत्या प्रकरणको प्रहरीले अनुसन्धान जारी राखेको छ । गएराति नै भएपछि शव शनिबार बिहान मात्र भेटिएको थियो ।
हत्या हुनेमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा सुमित्रा भुजेल रहेका छन् । यस्तै मोरङका १९ वर्षका नवीन राई छन् ।
एकै परिवारका तीनसहित चार जनाको सामूहिक हत्या भएपछि उपत्यका प्रहरी कार्यालय, काठमाडौंको निर्देशनमा तालिम प्राप्त कुकुरसहित अनुसन्धान भइरहेको छ ।
घटनास्थलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुर समेत लगी अनुसन्धान कार्य सुरू गरिएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीले बताए ।
घटनास्थलमा मुचुल्कालगायतको कार्य सम्पन्र गरी शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
उक्त हत्याको आशंकामा प्रहरीले सोधपुछका लागि धनकुटाका २४ वर्षीय दीपेन्द्र राईलाई प्रहरी नियन्त्रणमा लिएको छ । अनुसन्धानको क्रममा राई सोही सःमिलमा काम गर्ने गरेको खुलेको छ ।
राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए । उनले मदिरा सेवन गरेको पाइएको छ ।
हत्याको अनुसन्धानको जिम्मा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरलाई दिइएको छ । घटनाको थप अनुसन्धान भइरहेको एसएसपी राठौरले बताए ।
