काठमाडौं । काठमाडौंको गैह्रीगाउँको हत्या प्रकरणमा संलग्न भएको आशंकामा पक्राउ परेका आरोपी सोही सःमिलमा काम गर्ने गरेको खुलेको छ ।
प्रहरीले हत्याको आशंकामा २८ वर्षीय दीपेन्द्र राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा नियन्त्रणमा लिएको छ । उनले मदिरा सेवन गरेको पाइएको छ ।
तिनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलमा चार जनाको धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । गए राति १२ बजेतिर घटना भएको बताइएको छ ।
प्रहरीका अनुसार हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेका छन् ।
उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट छ ।घटनाको अनुसन्धानमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरू खटिएका छन् ।
तर, उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाका अनुसार हत्याको अनुसन्धानको जिम्मा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरलाई दिइएको छ ।
हत्या किन ? कसरी ? के को लागि ? कसले घटायो भनेर बाँकी अनुसन्धान अब एसएसपी राठौरले गर्नेछन् । उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोद ढुंगेलको टोलीले सहयोग गर्नेछ ।
घटनाको थप अनुसन्धान भइरहेको एसएसपी राठौरले बताए ।
