काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा एकै परिवारका ३ जनासहित ४ जनाको हत्या भएको छ । धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको हो ।
मृत्यु हुनेमा २ महिला र दुई जना पुरुष छन् । प्रहरीका अनुसार हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेका छन् ।
उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले ४ जनाको हत्या गरिएको अवस्थामा शव फेला परेको पुस्टी गरे । गए राति १२ बजेतिर घटना भएको बताइएको छ ।
उनका अनुसार चारै जना सोही स:मिलमा कार्यरत थिए । उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट छ ।
घटनाको अनुसन्धानमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरू खटिएका छन् ।
उक्त हत्या प्रकरणमा संलग्न भएको आशङ्कामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि एक जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा २८ वर्षीय दीपेन्द्र राई रहेको एआईजी थापाले बताए । राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । उनले मदिरा सेवन गरेको पाइएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको छ ।
