काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले गत सोमबार अवैध सुनसहित दुई जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा काभ्रे खानीखोला गाउँपालिका–३ घर भई पनौती नगरपालिका–५ बस्ने २८ वर्षीय बाबुलाल दोङ रहेका छन् ।
उनको साथबाट काठमाडौं प्रहरीले नौ सय ६० ग्राम तौल अवैध सुन बरामद गरेको थियो । भन्सार छली लुकाईछिपाई अवैध सुन ल्याएको सूचना पाएपछि काठमाडौं प्रहरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर सार्वजनिक सडक पेटीमा हिँड्दै गरेका अवस्थामा पक्राउ गरेको हो ।
हिमालयन एयरलाइन्सद्वारा दुबईबाट नेपाल आएका बाबुलालले भन्सार छलि अवैध सुन लुकाइछिपाइ ल्याएको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोद ढुंगेलले जानकारी दिए ।
बाबुलाल पक्राउ परेपछि उक्त बरामद सुन कसको हो ? कहाँबाट आयो ? कसले पठाएको हो ? भनेर केरकार गरेपछि प्रहरीले थप दुई जनालाई पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा काभ्रे, रोशी गाउँपालिका–३ घट्टेखोला बस्ने ३३ वर्षीय जगत लामा र महाभारत गाउँपालिका–३ सानो पोखरा घर भई हाल बनेपा बस्ने ३६ वर्षीय मिङमा दोर्जे स्यान्तान थिए ।
उनीहरुलाई प्रहरलिे काठमाडौँ महानगरपालिका–१५ ढल्कुस्थित बिगमार्टको पार्किङबाट पक्राउ गरेको हो । उनीहरुले प्रयोग गरेको बागमती प्रदेश ०१–२७ च ९९६० नम्बरको गाडी र बागमती प्रदेश ०२–०३० प ८५१७ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरी गरेको छ ।
यद्यपी अवैध रुपमा भित्रिएको नौ सय ६० ग्राम सुनको मुख्य नाइकेलाई प्रहरीले पक्राउ गर्न भने सकेको छैन । स्रोतका अनुसार उक्त बरामद सुनको मुख्य नाइके काभ्रेकै विकास लामा रहेको खुलेको छ । पक्राउ परेका उनीहरुले प्रहरीसमक्ष बयानमा लामाको नाम खुलाएको बताइएको छ ।
उनीहरुको बयानबाट यसमा काभ्रेका लामाको संलग्नता पनि खुलेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोद ढुंगेलले पनि सुन प्रकरणमा लामाको खोजी भइरहेको पुष्टि गरेका छन् ।
लामाले राजनीतिक आडमा अपराधिक गतिविधि गर्दै आएको खुलेको छ । नेपाली कांग्रेस बागमति प्रदेशसभा सदस्य तीर्थ लामाको आडमा अपराधिक गतिविधिमार्फत लामाले छोटो समयमै करोडौंको सम्पत्ति आर्जन समेत गरेका छन् ।
जसको पछिल्लो ज्वलन्त उदाहरण हो, काभ्रेमै करोडौंको घर र गाडी चढ्ने हैसियत । जबकी उनलाई नजिकबाट चिन्नेहरु नै भन्ने गर्छन, लामाले कसरी यत्रो सम्पत्ति छोटो समयमै जोडे ? अवैध सुनसहित बरामद भएको गाडी समेत उनै लामो रहेको खुलेको छ । अरुको नाममा गाडी भएपनि उनले नै चढ्दै आएका थिए ।
त्यस्तै लामा २ वर्षअघि मोटरसाइकल चोरी मुद्दामा जेल बसेर बाहिर निस्केको पाइएको छ ।
हाल प्रहरी लामाको खोजीमा जुटेको छ । लामा गत चुनावमा तिर्थ लामाकै जोडबलमा प्रदेशसभाको समानुपातिक उम्मेदवारका लागि सिफारिसमा परेका थिए । त्यस्तै उनलाई बागमती प्रदेश प्रचार समिति सदस्यमा मनोनित समेत गरिएको छ ।
