काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले बर्दीको दृश्य देखाउँदा स्क्रिप्ट खुलाएर पूर्वअनुमति लिनुपर्ने नियम ल्याएको छ । जुन अति नै सान्दर्भिक रहेको भन्दै प्रशंसा भएको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै प्रधान कार्यालयले नेपाली चलचित्र, टेलिचलचित्र, सांगितिक भिडियो एवम् फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जाल तथा स्टेज कार्यक्रममा नेपाल प्रहरीले प्रयोग गर्ने पोशाकको दुरुपयोग भएको जनाएको छ ।
पोशाकको दुरुपयोग गरेको देखिनुका साथै सांगठनिक मर्यादा विपरीतका अपशब्द एवं संवादलाई प्रस्तुत गरेको र केही व्यक्ति एवं समूहबाट प्रहरीले व्यावसायिक रुपमा सम्पादन गरेका कार्यलाई अपव्याख्या गर्ने गरेको प्रधान कार्यालयको जिकिर छ ।
प्रहरी प्रवक्ता नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले प्रहरी कर्मचारीहरूको व्यावसायिक मनोबलमा प्रतिकूल प्रभाव पार्ने किसिमका क्रियाकलाप देखिएकोले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
अबदेखि नेपाल प्रहरीको पोशाक प्रयोग गर्नुपूर्व प्रधान कार्यालय श्रव्यदृश्य शाखा नक्सालमा पोशाक प्रयोग गर्नुको प्रयोजन तथा आवश्यकता अनुसार उक्त भिडिओको स्क्रिप्ट समेत खुलाई पूर्व स्वीकृति लिनुपर्ने पनि कडायतले जनाएका छन् ।
उनले प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखाको पूर्व स्वीकृति नलिई वा स्वीकृत प्रयोजन तथा स्क्रिप्ट अनुसारबाहेक अन्य कुनै पनि प्रयोजनका लागि प्रहरीले प्रयोग गर्ने पोशाक र पोशाकमा प्रयोग हुने दर्ज्यानी चिन्ह तथा प्रहरीको मोनोग्राम प्रयोग नगर्न पनि आग्रह गरेको छ ।
यदि यस्ता काम भएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने पनि कडायतले जनाएका छन् ।
प्रधान कार्यालयले यसरी विज्ञप्ति जारी गर्न बाध्य हुनु पटक पटक विवादमा आइरहने प्रकाश सपूतले ल्याएको पछिल्लो तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’को विवादले हो ।
दुई वर्षअघि तीजपर्वमा सार्वजनिक ‘कुरा बुझ्न पर्च’को दोस्रो भागका रुपमा सार्वजनिक उक्त गीतको अन्त्यमा प्रहरीको बर्दीमै विवादित दृश्य र डाइलग राखिएपछि प्रहरी प्रधान कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।
प्रकाश सपूतको गीतको उक्त दृश्यले प्रहरीलाई समेत विवादमा तानेपछि नक्सालले विज्ञप्ति निकालेको हो । यद्यपि सपूतले स्वस्तिमा खड्कासँगको उक्त विवादित दृश्य र डाइलग हटाएका छन् ।
