काठमाडौं । नेपाल प्रहरीले पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरुको विवरण राखिएको वेबसाइट सञ्चालनमा ल्याएको एकहप्ता भएको छ । प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरले उक्त वेबसाइट उद्घाटन गरी सञ्चालनमा ल्याएका हुन् ।
आईजी कुँवरले उद्घाटन गरेको साइटमा विवरणहरु समेत अपलोड गरिएको छ । वेबसाइटमा राखिएको विवरणमा काठमाडौं उपत्यकामै ३२ वटा पहिचान नखुलेको शव रहेको छ ।
काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामै मात्र ३२ वटा शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार काठमाडौंमा १६, ललितपुरमा ९ र भक्तपुरमा ७ वटा पहिचान नखुलेको वेवारिसे शव छ ।
वेवारिसे सबै शवहरु उपत्यकाको विभिन्न अस्पतलहरुको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।
फोटोसहित राखिएको प्रहरीको वेबसाइट – cid.nepalpolice.gov.np मा कोही कसैले पहिचान गर्न सजिलो होस् भन्ने उद्देश्यले मृतक व्यक्तिको हुलियादेखि उचाईसम्मको विवरण राखिएको प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआईजी) कुबेर कडायतले जानकारी दिए ।
प्रहरीले बेवारिसे शवको अभिलेख अहिलेमात्र नभएर पहिलादेखि नै राख्दै आएको छ । बेवारिसे शवको फाइल नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले हेर्दै आएको छ ।
हेर्नुहोस् कुन जिल्लामा कति शव वेवारिसे छ ?








