डोल्पा । ११ भदौदेखि हराइरहेका डोल्पा दुनैस्थित नन्दबक्स गुल्मका मेजर बिमल पण्डितको शव आज भेरी नदीमा भेटिएको छ ।
त्रिपुरासुन्दरी नगरपालिका–५ अन्तर्गत पर्ने करबगाडस्थित चिन्ढेबगरनजिक भेरीको किनारमा मेजर पण्डितको मृत शव भेटिएको हो ।
भेरीमा माछा मार्न जाल खेल्दै जाँदा मंगलबार बिहान ६ बजेतिर त्रिपुरासुन्दरी–५ का परिमल भनिने शिवकमल सार्कीले चिण्ढेबगरस्थित भेरी किनारमा शव देखेपछि खदाङ्गस्थित प्रहरी चौकीमा खबर गरेका थिए ।
दुईवटा ढुङ्गाको खोल्सामा ठूलो ज्यान भएको बायाँ हातमा घडी र दायाँ हातको कान्छी औँलामा औठी देखेपछि मेजरको शव हुन सक्ने भनेर चौकीमा खबर गरेको सार्कीले बताएका छन् ।
सार्कीले खबर गर्नेबित्तिकै खदाङ्ग प्रहरीले जिल्ला प्रहरी कार्यालयलाई जानकारी दिएको थियो ।
त्यसलगत्तै प्रहरी नायव उपरीक्षक (डिएसपी) शिव बुढाथोकीको कमाण्डमा एउटा टोली खटिएको थियो । उद्दार सामाग्रीसहित नेपाली सेनाका मेजर रवि साहको टोली पनि चिण्ढेबगरमा पुगेको थियो ।
डिएसपी बुढाथोकीको टोली पुगेको केही समयपछि रामबाण गुल्मका गुल्मपति ध्रुव कार्कीको टोली पनि पुगेर खोचमा रहेको शव बाहिर निकालेर पहिचान प्रयास गरेको थियो ।
घडी र औँठीबाट शव मेजरको पुष्टि भएको घटनास्थलमा पुगेका डिएसपी बुढाथोकीले जानकारी दिए । शव फेला परेको ठाउँबाटै प्रत्यक्षदर्शी लगायतका स्थानीय समेतको उपस्थितिमा मुचुल्का उठाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल दुनैमा ल्याइँदैछ ।
शव पहिचानका लागि मेजर पण्डितका दाजु कुमार पण्डित समेत घटनास्थलमा पुगेका थिए । काठमाडौ कागेश्वरी मनोहरा नगरपालिका डाँछी घर भई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपरान्ह ४ बजेदेखि बेपत्ता भएका थिए ।
