काठमाडौं । हृदयघातका कारण निधन भएका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ ज्वरो आएपनि सोमबार दिनभर घरमै आराम गरेर बसेको पाइएको छ ।
उनकी श्रीमतीका अनुसार आइतबार धरान पुगेर फर्किएका नेम्वाङलाई सोमबार बिहानैदेखि ज्वरो आएको थियो । ज्वरो आएपनि उनी घरमै आराम गरेर बसेका हुन् ।
घरमै डाक्टरले चेकजाँच गरेका थिए । डाक्टरले हिजो साँझ पनि नेम्वाङको स्वास्थ्य परीक्षण गरेका थिए । त्यतिबेला उनलाई १०२ डिग्री ज्वरो आएको थियो ।
डाक्टरले स्वास्थ्य परीक्षण गरेपछि अस्पताल जानुपर्दैन घरमै आराम गर्दा हुन्छ भनेकाले नेम्वाङले आराम गरेका थिए ।
बेलुका सुप खाएर सुतेका नेम्वाङ राति १ बजेतिर घरको शौचालयमा बेहोस भेटिएपछि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याइएको थियो । बाटोमै उनको मृत्यु भएको थियो ।
उनको पार्थिव शरीर भोलि (बुधबार) सम्म पार्टी कार्यालय च्यासलमा राखिने एमालेले जनाएको छ ।
