काठमाडौ । बाँकेको नेपालगन्ज विमानस्थलबाट प्रहरीले २६ लाख नगद रुपैयाँसहित नेपाल सरकारका एक अधिकृतलाई नियन्त्रणमा लिएको छ ।
आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई प्रहरीले २६ लाख नगद रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीका अनुसार नेपालगन्ज विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीको टोलीले सापकोटालाई सोमबार बिहान नियन्त्रणमा लिएको हो ।
‘विमानस्थलभित्रबाट प्रहरीले २६ लाख रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएका छौं’ उनले भने, ‘यसबारे अन्य विषयमा अनुसन्धान भइरहेको छ ।’
विमानस्थल प्रहरी स्रोतकाअनुसार उनी बिहानको ८ः ४५ बजेको श्री एयरको उडानमा नेपालगन्जबाट काठमाडौं जाने तयारीमा थिए ।
चेकजाँचको क्रममा अधिकृत सापकोटा र दिपक पौडेलसँग नेपाली रु. २६ लाख रुपैयाँ बरामद भएको हो । अधिकृत पौडेल भने फरार भएको बाँके प्रहरीले जनाएको छ ।
बरामद भएको रकमको स्रोतबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
