काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह उर्फ बालेनले सरकारलाई ‘चोर’ को संज्ञा दिँदै ‘सिंहदरबारमा नै आगो लगाइदिने’ चेतावनी दिएको फेसबुक स्ट्याटस डिलिट गरेका छन् ।
शनिबार राति ८ः ५० बजेको समयमा लेखिएको ‘फेसबुक पोस्ट’ सोमबार बिहान सुटुक्क हटाएका हुन् । पब्लिक सेन्टिमेन्ट बटुल्न पोष्ट गरेको स्ट्याटसको सर्वत्र आलोचना भएपछि मेयर शाहले डिलिट गरेका हुन् ।
मेयर शाहले आफ्नी श्रीमती चढेको काठमाडौं महानगरपालिकाको सरकारी गाडी बिदाको दिन रोकिएकोप्रति आक्रोश व्यक्त गर्दै सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका थिए ।
महानगरपालिकाको मेयरले सरकारी बिदाको दिन श्रीमतीलाई सरकारी गाडी चढाएर पदको दुरुपयोग गरेको भन्दै सर्वत्र आलोचना भएको थियो । अराजक अभिव्यक्ति दिएपछि उनलाई कारबाही हुनुपर्ने आवाज समेत उठेको थियो ।
सर्वत्र आलोचना भएपछि मेयर बालेनका समर्थकले बालेन पत्नी सबिना काफ्लेलाई प्रसूति ब्याथा लागेकाले आकस्मिक रूपमा प्रयोग गरिएको बहाना बनाउँदै बचाउ गरेका थिए ।
तर, सविना ९ दिनअघि नै सुत्केरी भएको खुलेको थियो । गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै सबैतिरबाट आलोचना हुन थालेपछि मेयर शाहले माफी नै नमागी आफूले लेखेको पोस्ट सुटुक्क हटाएका हुन् ।
उनले लेखेका थिए, ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख् चोर सरकार ।’
