काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नी श्रीमती सवार सरकारी नम्बर प्लेटको गाडी ट्राफिक प्रहरीले रोकेको घटनाबारे प्रस्टीकरण दिएका छन् ।
साहको सचिवालयले सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेमाथि प्रहरीले चेकजाँचका नाममा अनावश्यक केरकार गरेको जनाएको छ ।
सार्वजनिक बिदाको दिन गाडी चलाउने परमिट लिइएको भए पनि शनिबार साँझ ट्राफिक प्रहरीले रोक्दा उक्त परमिट गाडीमा नभएको सचिवालयले स्वीकार गरेको छ ।
बालेन पत्नी काफ्ले सुत्केरी भएको र एनआईसीयूमा रहेको बच्चालाई स्तनपान गराउन अस्पताल गएको विज्ञप्तिमा उल्लेख छ ।
मेयर साहको सचिवालयका अनुसार बालेन दम्पतीका शिशु मेडिसिटी अस्पतालमा एनआईसीयूमा उपचाररत छन् । शनिबार साँझ बालेनकी पत्नी सविनाको स्वास्थ्यमा जटिलता देखिएपछि बालेनले चढ्ने महानगरको गाडीमा अस्पताल गएकी थिइन् ।
आफ्नो स्वास्थ्य परीक्षण गर्नुका साथै शिशुलाई स्तनपान गराएर घर फर्किँदा सविना चढेको गाडीलाई कोटेश्वरमा चेकजाँचमा बसेको ट्राफिक प्रहरीले रोकेको थियो । त्यसक्रममा प्रहरीले दुर्व्यवहार गरेको मेयर बालेनको सचिवालयले जनाएको छ ।
सुत्केरी सवार गाडीलाई मानवीय संवेदनशीलताको ख्याल नराखी ७ मिनेटसम्म सडक किनारामा राख्न लगाएर ट्राफिक प्रहरीले असान्दर्भिक र मनोमानी प्रश्न गरेको विज्ञप्तिमा उल्लेख छ ।
सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्बन नगरी प्रहरीले ‘ढोका खोल’, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सविना काफ्लेलाई अनावश्यक केरकार गरेको सचिवालयले दाबी गरेको छ ।
‘प्रसव पीडा र शारीरिक समस्यामा एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको यस प्रकारको असभ्य व्यवहार अत्त्यन्त निन्दनीय तथा खेदजनक छ,’ विज्ञप्तिमा भनिएको छ ।
शनिबार साँझ मेयर बालेनकी श्रीमती सविना काफ्ले सवार सरकारी नम्बर प्लेटको गाडी ट्राफिक प्रहरीले चेकजाँच गरेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा सरकारलाई चोरको संज्ञा दिँदै सिंहदरबार जलाइदिने धम्कीयुक्त स्ट्याटस लेखेका थिए ।
