काठमाडौं । प्रहरी महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरले ‘पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण’ राखिएको वेवसाइट गमद।लभउबउियष्अिभ।नयख।लउ को उद्घाटन गरेका छन् ।
आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच आईजी कुँवरले उद्घाटन गरेका हुन् ।
उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै आईजी कुँवरले निर्माण भएको वेवसाइटको सुरक्षाको साथसाथै नागरिक एपमा जोड्न सके अझै प्रभावकारी हुने बताए ।
वेवसाइटलाई कुनै पनि समस्या नआउने गरी प्रभावकारी रूपमा संचालन गर्दै धेरै भन्दा धेरै सरोकारवाला व्यक्तिहरूको पहुँचमा पुर्याई बढी भन्दा बढी पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरू सनाखत गर्न सहज र सक्षम हुने विश्वास उनले व्यक्त गरे ।
नागरिक स्तर र यससँग सम्बन्धित सरोकारवाला पक्षको सहयोग लिँदै प्रारम्भिक रूपमै शवको सनाखत हुने वातारण सिर्जना गर्ने र त्यस्ता किसिमका विवरण संकलन गरेर वेवसाइटमा राख्ने विषयमा सम्बन्धित विभागले नियमित रूपमा अनुगमन गर्नुपर्ने बताए ।
कार्यक्रममा वेवपेज निर्माण गर्ने कम्पनी योङ्गमाइन्ड्स क्रियसन प्रा.लि.का प्रबन्ध निर्देशक डा. श्रीधर मरासैनीले वेवसाइटको प्रयोगको प्रभावकारिता र विशेषताहरूको बारेमा जानकारी दिएका थिए ।
दुर्घटना, प्राकृतिक विपद् वा अन्य कारणबाट मृत्यु भई पहिचान हुन नसकेका वा हकवाला वा आफन्तले फेला पार्न नसकी वेवारिसे शवहरूको उचित रूपमा व्यवस्थापन गर्ने उद्देश्यले त्यस्ता शवहरूको विस्तृत विवरणसहित छुट्टै वेवपेज निर्माण गर्ने राज्य व्यवस्था तथा सुशासन समितिको २०७८ वैशाख २ गतेको निर्णयबमोजिम नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको पहलमा पहिचान नखुलेका शव तथा हराएका व्यक्तिहरूको विवरण समेटि सम्पूर्ण विवरण एकै ठाउँबाट जानकारी लिन सकिने तथा कसैले व्यक्तिको पहिचान गरेमा आफ्नो जानकारी र विवरण रिपोर्ट गर्न सक्ने गरी निर्माण गरिएको वेवसाइट आजैबाट प्रयोगमा आएको उक्त अवसरमा जानकारी दिइयो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू र योङ्गमाइन्ड्स क्रियसन प्रालिका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
