काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) राजु अर्यालले व्यावसायीक जीवनमा पदोन्नती महत्वपूर्ण रहने बताएका छन् ।
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान गर्दै अर्यालले व्यावसायीक दक्षता र प्रदर्शन गरेको क्षमताको परिणाम स्वरुप पदोन्नती भएको बताएका हुन् ।
आईजी अर्यालले कार्यक्षेत्रमा परिचालित हुँदा पूर्ण क्षमता, व्यवसायीकता, इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिँदै संगठन
स्थापना पश्चात संगठनको साख बृद्धिमा टेवा पुर्याउनुहुने अग्रजहरुको सम्मान गर्दै संगठनमा फौजी परम्पराको रक्षा गर्नु सवै तहका राष्ट्रसेवकहरुको दायित्व रहेको उल्लेख गरे ।
महानिरीक्षक अर्यालले भ्रष्टाचार बिरुद्धका कार्यमा शून्य सहनशीलताको नीति अवलम्बन गरी पेशाप्रति पूर्ण निष्ठावान भई थपिएको पदीय जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट निर्वाह गर्न निर्देशन दिए ।
गत ११ भदौमा नेपाल सरकार गृहमन्त्रालय (माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर) को निर्णयले एसएसपीमा बढुवा भएका बरिष्ठ अधिकृतहरुलाई अर्यालले आज दज्र्यानी चिन्ह प्रदान प्रदान गरेका हुन् ।
सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका १२ जना सशस्त्र प्रहरी उपरीक्षकहरु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा बढुवा भएका हुन् ।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।
