चितवन । आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दामा पुर्पक्षका लागि जेल चलान आदेश भएका व्यवसायी प्रदीप रूङ्टा बिरामी भएको भन्दै अस्पतालमै उपचार गराइरहेका छन् ।
गत साउन १८ गते चितवन जिल्ला अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले रूङ्टालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।
नेपाली कांग्रेस चितवनका पूर्व कोषाध्यक्ष तथा व्यापारी शङ्कर कँडेलको आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दामा उनलाई अदालतले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो ।
तर उनी सोही दिनदेखि उपचार गराइरहेका हुन् । अदालतको आदेश लगत्तै बिरामी भएका रूङ्टा तत्कालै भरतपुर अस्पतालमा भर्ना भएका थिए । उनी केही दिन उपचारपछि अस्पतालले दिउँसो डिस्चार्ज गरेको बुझिएको छ ।
उनलाई भरतपुर कारागार लगिएकोमा रात समेत नबिताई पुनः बिरामी भएको भन्दै चितवन मेडिकल कलेज पुगेको कारागार स्रोतले बतायो ।
रूङ्टा हाल चितवन मेडिकल कलेज (सिएमसी) मा उपचार गराइरहेको बुझिएको छ । उच्च अदालतको थप आदेश आइनसकेकाले उनी अदालतले जेलमा बस्ने आदेश गरे पनि बिरामी भएको भन्दै आदेश भएकै दिनबाट अस्पतालमा रहेका छन् ।
गत वैशाख १९ गते आफ्नै कार्यकक्ष (अनमोल फिड्स) मा कँडेलले झुन्डिएर आत्महत्या गरेका थिए ।
