काठमाडौं । नेपाल प्रहरीमा बरिष्ठ उपरीक्षक (एसएसपी) तयारीको अन्तिम गृहकार्य चलिरहेको छ । केही महत्वपूर्ण कार्यालयमा सरुवा हुन चाहने अधिकारीहरुको चलखेलका कारण गृह मन्त्रालयले निर्णय गर्न सकेको छैन ।
एसएसपीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं, ललितपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय महत्वपूर्ण युनिट मानिन्छ । ती युनिटमा कार्यरत हालका प्रमुखको समेत सरुवा हुने भएपछि त्यहाँ जान अन्य एसएसपीको दौडधुप छ ।
काठमाडौं परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीको समेत सरुवा हुने बताइएको छ । उनको सरुवा हुने भएपछि त्यहाँ जान ब्याचीहरु लागिपरेका छन् । तर, प्रहरी प्रधान कार्यालयले जुनियर टोलीका एसएसपीको नाम गृह मन्त्रालयमा सिफारिस गरेको स्रोत बताउँछ ।
स्रोतका अनुसार त्यहाँको लागि भुपेन्द्र खत्रीको नाम सिफारिस भएको छ । एसएसपी खत्री नेपाली कांग्रेस उपसभापति पूर्ण बहादुर खड्काको सिफारिसमा परिसर जान लागेका हुन् । जहाँ एसएसपी सुशील सिंह राठौर, ओम बहादुर राना र जीवन श्रेष्ठको नाम पनि चर्चामा छ ।
२५ असार २०७९ मा एसएसपी भएका शिद्धि विक्रम शाहले जिल्ला प्रहरी परिसर ललितपुरको कमाण्ड सम्हालेका छन् । एसएसपी शाहको पनि सरुवा तयारी भएको स्रोतको दाबी छ । उनको ठाउँमा सोही टोलीका एसएसपी दिनेश आचार्यको नाम सिफारिस गरिएको बताइन्छ ।
राठौर, राना र श्रेष्ठको लागि काठमाडौं परिसरमा सरुवा नभए विकल्पमा ललितपुर प्रहरी परिसर छ । तर, ललितपुर परिसरमा जानको लागि रेवती ढकाल, विनोद घिमिरे, अरुण पौडेल, जयराज सापकोटा, हिमालय कुमार श्रेष्ठको समेत नाम चर्चामा छ ।
यस्तै उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख डा. मनोज केसीको पनि सरुवा हुने चर्चा छ । उनको ठाउँमा पनि प्रधान कार्यालयले एसएसपी सोमेन्द्र सिंह राठौरको नाम सिफारिस गरेको स्रोत बताउँछ । जबकी राठौरभन्दा अगाडि एसएसपी भएका थुप्रै अधिकृतहरु छन् ।
एसएसपी सरुवाका लागि प्रधान कार्यालयको सिफारिसमा भन्दा पनि संगठनमा उसले गरेको कामको आधारमा इन्चार्जमा पठाउने तयारी गरेको गृहका एक उच्च अधिकारीले बताए । आजभोलीमै एसएसपी सरुवा निस्किने ति अधिकारीले प्रष्ट्याए ।
