म प्रहरीबाट अवकाश भएको १५ बर्ष भयो र यसअघि २३ बर्ष प्रहरीमा बिताएँ । करिब ३८ बर्षको मेरो अनुभवमा नेपाल प्रहरी यती बलियो, सम्मानित र जन विश्वास जित्न सफल भएको कहिल्यै देखिन ।
राजाका समयमा प्रहरीमाथि विश्वास थिएन । त्यो संस्थाले सधैं सेनालाई नै च्याप्थ्यो र दरबारको सैनिक सचिवालय हेर्ने सेना र दरबारसँग नजिक हुनसक्नेहरु मात्र माथि जान सक्थे ।

प्रहरी प्रमुखहरु सामान खरिद गर्न समेत पहिला दरबार र सैनिक अधिकृतहरुबाट अनुमति लिन्थे । तिनले भनेको ठेकेदारहरुलाई खरिदको काम दिइन्थ्यो । अलिकति त्यहाँ सेवा गर्न सकिएन कि डिबी लामालेझै जेल जानुपर्दथ्यो । पजनीमा पर्नुपथ्र्यो ।
२०४८ सालपछि प्रजातान्त्रिक सरकारका लागि प्रहरी पञ्चायतको सेवक थियो र यस संस्थालाई फेरी अविश्वास सुरु भयो । यस सोचको पीडित रत्न शमशेर, हेम बहादुरसापलगायत थुप्रै पजनीमा पारिएका अफिसरहरु पनि भए ।
त्यस समयका एसएसपी दर्जाका अफिसरहरुले बालुवाटार र सिंहदरबारसँग नजिकता बढाई आफू अगाडिका सिनीयरहरुलाई पञ्चायत, राजा र प्रजातन्त्रको विरोधी भन्दै फाँडेर अप्राकृतिक ढंगले नेतृत्वमा पुग्न त सफल भए, तर प्रहरी संगठनलाई फेरी दरबारबाट सिंहदरबार र बालुवाटारको दास बनाइदिए ।
यो दासत्व प्रहरी संगठनका लागि पहिले दरबारको दासत्व भन्दा पनि खतरनाक थियो । किनकि आईजीपी हुन नै रकम बुझाउनुपर्ने र सत्तामा रहेको दलको रक्षा गर्न प्रहरी अफिसरहरु क्याडर भएर काम गर्नुपर्ने नयाँ अवस्था आयो ।
पछि आईजीपीहरु आफै असुरक्षित हुन थाले । बालुवाटार र सिंहदरबारले सरुवा बढुवा र खरिद गर्न थाल्यो । प्रहरीका आईजीपीहरु भ्रष्टाचारको मुद्दामा आफै पर्न थाले । र प्रहरीहरु पैसा, सत्ताधारी दलको क्याडर र षड्यन्त्रको सहारा लिएर माथि जान थाले ।

प्रहरी कल्याणकोष समेत खाइ बालुवाटार र सिंहदरबारमा बुझाउने प्रहरी नेतृत्वहरु व्यक्तिगत रुपमा धनि भए, तर फौजको मानमर्यादा तल तल झर्दै गयो । उनीहरु दलको क्याडरझैं देखिए ।
मैले जागीर छोडुन्जेल (२०६४) सालसम्म आइपुग्दा त प्रहरीहरुमा आत्मबल निकै कमजोर भइसकेको थियो । काम गरेर, बहादुर र इमान्दार भएर माथि पुगिन्छ भन्ने त कुनै सम्भावना थिएन ।
केवल सत्ताको दया र त्यो दयाको लागि पैसा, केबल आईजीपीको गुट र त्यो गुटमा पर्नका लागि चाकडी, कस्को सरकार छ ? कसरी अड्ने ? बस् हाम्रो ध्याउन्न त्यती मात्र थियो ।
त्यस अवस्थामा मन्त्री, प्रधानमन्त्रीलाई पैसा बुझाउन सक्ने नै सफल हुन सक्थे । तिनका विरुद्धमा बोल्न कारबाही गर्नसक्ने हिम्मत कसैको थिएन ।
मैले छोडेपछि पनि बाहिरबाट हेर्दा स्थिति उही थियो । लगभग प्रहरीमा पद्दतीले काम गर्न छोडिसकेको थियो । पैसा दिएर आईजीपी भए भन्ने चर्चा साधारण भइसकेको थियो । यस समय कोहि प्रहरी बहादुर र इमान्दार बन्न खोजे पनि टिक्थेनन् ।
तर, इतिहासमा हालका प्रहरी नेतृत्व गज्जब देखिए । उनीहरुसँग आज प्रधानमन्त्रीहरु समेत डराइरहेका छन् । नेताहरु नै भन्छन् हामी बयान दिन प्रहरीमा आउन तयार छौं ।

गृहमन्त्री भएकाहरु खुरुक्क प्रहरी भ्यान चढेर प्रहरी हिरासतमा गइरहेका छन् । प्रहरीसँग सरुवा बढुवामा पैसा माग्न कसैको हिम्मत छैन । ३० बर्षे हटाउन पनि सब तयार छन् । पारलामेन्ट, राजश्व र अख्तियारभन्दा सिआईबीमाथि विश्वास गर्दछ । प्रहरीमा सबै अफिसर बलियो देखिएका छन् ।
म यो के दोख्दै छु ? म आफै दंग पर्छु र यो साधारण घटना होइन । हालका आईजीपी बसन्त बहादुर कुवँरको कद, काठी र व्यवहार साधारण देखिएला, तर उनको नेतृत्वमा भएको काम कारबाही साधारण छैनन्, असाधारण छन् ।
आज स्थिति यस्तो छ की मन नपरे पनी दलहरु प्रहरीको तारीफ गर्न बाध्य छन् । यो स्थिति अब कति समय रहन्छ कुन्नी ? प्रहरीको एक्सनले अहिले भित्रभित्र सबको सातो गएको छ किनकि हरेक ठुला अनियमितताका काण्डहरुमा बालुवाटार र सिंहदरबार जोडिएकै छ ।
आज संसदको अवरोध पनि त्यसै भइरहेको छैन । त्यो अवरोध प्रहरी कारबाहीलाई ब्रेक लगाउन नै भइरहेको हो ।
सरकार परिवर्तन भएमा प्रहरी कारवाही सिथिलता आउने छ वा प्रहरी अर्को सरकारको बदला लिने काममा प्रयोग हुनसक्छ । तर आज प्रहरीको जे स्थिति छ त्यो अद्वितीय छ ।
मेरो अनुभवमा इतिहासमा नेपाल प्रहरी सबै भन्दा सम्मानित र बलियो भएको क्षण यही हो । समय सधैँ उस्तै रहँदैन । तर यो समयमा नेतृत्व प्रहरी संगठनले गौरव गरे हुन्छ ।
यो समय प्रहरी संगठनका लागि सुनौलो अक्षरले लेखिने समय हो । बस् प्रहरीले नैतिकता देखाएर सेवक भएर निष्पक्ष काम भने गरिरहनु पर्दछ ।
पद कुनसम्म पुगियो यस्को खासै अर्थ रहेनछ । किनकि अवकाशपछि फुटपाथमा ठूला पदका पनि केहि हैसियत नभएको देखियो । तर पदमा रहँदा काम के गरियो ? यस्को भने मूल्यांकन हुन्छ । अहिलेको प्रहरीको मूल्याकंन उच्च छ र हुनेछ ।
