रौतहट । राजमार्गमा जिप चालकसित घूसको रकम लिएको आरोपमा दुई प्रहरी निलम्बनमा परेका छन् ।
ड्युटीमा रहेका प्रहरी र ट्राफिक जवानले चालकसित अवैध रकम लिएको भिडियो समाजिक सञ्जालमा आएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा रौतहट र सर्लाहीका दुई प्रहरीलाई शुक्रबार साँझ निलम्बन गरेको हो ।
निलम्बन पर्नेमा रौतहटको इलाका प्रहरी कार्यालय गरुडा अन्तर्गतको प्रहरी चौकी हर्षाहामा कार्यरत प्रहरी जवान सुनिलकुमार यादव र मधेश प्रदेश राजमार्ग ट्राफिक कार्यालय पथलैया बारा अन्तर्गतको सर्लाहीस्थित वाग्मती पोष्टमा कार्यरत ट्राफिक प्रहरी जवान विकाश कलवारलाई निलम्बन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
‘संगठनविरुद्ध गलत आचरण गर्ने जो कोहीलाई कारबाही हुन्छ,’ मधेस प्रदेश प्रहरी प्रमुख डिआईजी जनक भट्टराईले भने, ‘दुवै जवानले अनैतिक ढंगले संगठनको मर्यादा विपरीत चालकसित रकम लिएको बारे अनुसन्धान गर्न निर्देशन दिएको छु ।’
जिप चालक रौतहटका सिकन्दर पटेलसित जवान यादवले हर्षाहा र ट्राफिक कलवारले कर्मैयामा रोकेर एक/एक सय लुकाएर लिएको भिडियोमा प्रष्ट देखिएको छ ।
चालक पटेल दुवै प्रहरीले आफूलाई मालसमान बोकेर जाँदा धेरै दुख दिएको सुनाए । ‘मैले जरिवाना काटनुस् भन्दा पनि मानेनन,’ उनले भने, ‘गाडी रोकेर दुख दिनसम्म दिए पछि बाध्य भएर प्रमाणको लागि भिडियो बनाएको हुँ ।’
उनले हर्षाहा, गरुडा र सुकदेव चोकमा प्रहरीले रोकेर दुःख दिने र रकम माग्ने गरेको सुनाए । जवान यादवको दरबन्दी इलाका प्रहरी कार्यालय गंगा पिप्रा हो ।
जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जवान यादवलाई निलम्बन गरी अनुसन्धान थालेको बताए ।
