काठमाडौं । राष्ट्रियसभाका सांसद वामदेव गौतमले नेपाली सेनाको संख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाएका छन् ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको संख्या घटाउने कुरा उसको अपमानबाहेक केही हुन नसक्ने तर्क गरेका हुन् ।
बिहीवार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेपाली सेनाको संख्या कायम राख्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि २ लाख सेना थप गर्नुपर्ने प्रस्ताव समेत गरे ।
त्यसो गरियो भने नेपाली सेनाले आगामी ५ वर्षभित्रमा नेपाललाई आत्मनिर्भर मात्रै बनाउने नभई विदेश निर्यात गर्ने मुलुकको स्तरमा पुर्याउने तर्क सांसद गौतमको छ ।
‘म ती साथीहरूलाई अनुरोध गर्छु, जसले सेनाको संख्या घटाउनुपर्छ, त्यसबाट बचेको पैसाले देश विकास गर्नुपर्छ भन्छ । बरु अर्को दुई लाख सेना निर्माण गरेर देश निर्माणमा लाग्नुपर्छ,’ उनले भने ।
त्यस्तै सांसद गौतमले पार्टीको केन्द्रीय कार्यसमिति बैठक लाइभ गरेको भन्दै कांग्रेसप्रति आभार व्यक्त गरे । कम्युनिस्ट पार्टीहरूले पनि त्यसबाट सिकेर अघि बढनुपर्ने उनको धारणा छ ।
